• १६ भदौ २०८१, आइतबार

दस हजारभन्दा बढी अस्थायी आवास निर्माण

blog

वासुदेव शर्मा

जाजरकोट, माघ ८ गते । जाजरकोटमा दस हजारभन्दा बढी अस्थायी आवास निर्माण भएका छन् । गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले घरमा क्षति भएपछि घरवारविहीन दस हजार १५९ प्रभावितका अस्थायी आवास निर्माण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन कोषबाट एक अर्ब तीन करोड ४१ लाख ७५ हजार शुक्रबारसम्म निकासा भएको छ । ४२ हजार ५२४ लाभग्राहीको सङ्ख्या कायम भएकामध्ये अस्थायी आवास निर्माणका लागि २८ हजार ३८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरे पनि २७ हजार ९१ लाभग्राहीले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् । 

स्थानीय तहले अस्थायी आवासका लागि ६७ करोड ७२ लाख ७५ हजार रुपियाँ वितरण गरेकोमध्ये स्थानीय तह तथा नेपाल सरकारबाट नौ हजार ६३७ वटा विभिन्न विकास साझेदार र अन्य सहयोगीबाट ५२२ गरी जम्मा १० हजार १५९ अस्थायी आवास निर्माण भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताउनुभयो ।   

भेरी नगरपालिकाको विपत् व्यवस्थापन कोषमा भूकम्पपीडितका लागि १३ करोड ६९ लाख २५ हजार रुपियाँ जम्मा भएको  छ । छ हजार ६३५ लाभग्राहीमध्ये चार हजार ६५२ जनाले पहिलो किस्ता रकम पाएका छन् । नलगाड नगरपालिकाले ११ करोड ६३ लाख रुपियाँ वितरण गरेको छ । नेपाल सरकारबाट ४९२ अस्थायी आवास निर्माण भएका छन् । नलगाड नगरपालिकाको विपत् व्यवस्थापन कोषमा २० करोड २४ लाख २५ हजार जम्मा भएकोमध्ये आठ हजार ९७ जना लाभग्राहीले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम सम्झौता गरे पनि सात हजार १५० जनाले पहिलो किस्ता रकम पाएका छन् । नलगाड नगरपालिकाले १७ करोड ८७ लाख ५० हजार रुपियाँ लाभग्राहीलाई वितरण गरेको छ । पालिका तथा नेपाल सरकारले छ हजार २९६,  सरकारी तथा सहयोगीले ५२२ गरी जम्मा छ हजार ८१८ अस्थायी आवास निर्माण भएका छन् । 

आठ हजार २०५ लाभग्राही कायम भएको छेडागाड नगरपालिकाले २० करोड ५१ लाख २५ हजार रुपियाँ विपत् व्यवस्थापन कोषमा जम्मा भएको छ । दुई हजार १८८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरेकोमा दुई हजार १८८ जनाले रकम  पाएका छन् । पाँच करोड ४७ लाख वितरण गरेको छ भने सरकारबाट ३७२ अस्थायी आवास निर्माण भएका छन् । बारेकोट गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा जम्मा भएको १३ करोड ९६ लाख ५० हजार पाँच हजार ५८६ लाभग्राही कायम भएकामध्ये पहिलो किस्ता रकमका लागि सम्झौता गरेका चार हजार ६८७ लाभग्राहीले रकम पाएका छन् । ११ करोड ७१ लाख ७५ हजार रुपियाँ अस्थायी आवासका लागि वितरण गरेको बारेकोट गाउँपालिकामा सरकारबाट एक हजार ६३१ अस्थायी आवास निर्माण भएका छन् । 

कुशे गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा १३ करोड २१ लाख ७५ हजार रकम जम्मा भएको छ । पाँच हजार २८७ लाभग्राही कायम भएकोमध्ये पहिलो किस्ता रकमका लागि चार हजार १५४ जनाले सम्झौता गरेका छन् । तीमध्ये सबैले अस्थायी आवासका लागि रकम पाएका छन् । १० करोड ३८ लाख ५० हजार वितरण गरेको कुशे गाउँपालिकामा १०८ अस्थायी आवास निर्माण भएका छन् । जुनीचाँदे गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा १३ करोड ५१ लाख ५० हजार रुपियाँ जम्मा भएको छ । पाँच हजार ४०६ जना लाभग्राही कायम गरेको जुनीचाँदेले एक हजार ११३ जना लाभग्राहीसँग सम्झौता गरी एक हजार ११३ जनालाई पहिलो किस्ता रकम दुई करोड ७८ लाख २५ हजार वितरण गरेको छ भने हालसम्म अस्थायी आवास निर्माण हुन सकेका छैनन् । 

शिवालय गाउँपालिकाको विपत् व्यवस्थापन कोषमा आठ करोड २७ लाख २५ हजार जम्मा भएको छ । तीन हजार ३०९ जना लाभग्राही कायम भएका छन् । पहिलो किस्ता रकमका लागि तीन हजार १४७ जनाले सम्झौता गरेकामध्ये सबैले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् । सात करोड ८६ लाख ७५ हजार रुपियाँ वितरण गरेको छ । शिवालय गाउँपालिकामा ७३८ अस्थायी आवास निर्माण भएका छन् । 

४२ हजार ५२४ भूकम्प प्रभावितमध्ये २७ हजार ९१ जना लाभग्राहीले अस्थायी आवासको रकम लिएको पालिकाले स्थानीय प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । जिल्ला प्रशासनको सूचनाका आधारमा ३२ हजार ३६५ परिवार त्रिपालमुनि बसेको पाइन्छ । स्थानीय सरकारको ढिलासुस्तीका कारण भूकम्पपीडितले सरकारबाट प्राप्त भएको रकम पाउन सकेका छैनन् ।