• २६ जेठ २०८२, सोमबार

बर्खा लाग्यो, चिन्ता बढ्यो

blog

पक्की पुल बगाएको तिलागुफा नगरपालिकाको भैँसीगौडामा तिलानदीको पानी बढ्यो । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट जेठ २६ गते ।
कालीकोटको तिलागुफा नगरपालिकाका नागरिकलाई वर्षात लाग्ने वितिकै चिन्ता पनि बढ्ने गरेको छ । नगरको वडा नं ९, १० र ११ साथै महावै गाउँपालिकाका नागरिकलाई वर्षात सुरु हुने वितिकै चिन्ता बढ्ने गरेको छ । हिउँदमा सडकको यात्रा गर्दा सहज भए पनि बर्खा लाग्ने वितिकै तिला नदीमा पानीको बहाव बढ्ने भएकाले यात्रा पूर्णरुपमा बन्द हुन्छ ।

तिला नदीमा बनेको पक्की पुल बाढीले बगाएको तीन वर्ष हुँदैछ । लामो प्रतिक्षापछि सधैँ गाडी चढ्ने सपना पूरा हुन्छ भन्ने आश यहाँका नागरिकले  गरेका थिए । तर २०७९ असोज २० देखि २४ गतेसम्म आएको वर्षाले पुल बगाएपछि पुनः पुल निमार्णका लागि पहल हुन सकेको छैन ।

हिउँदको समयमा पानीको मात्र कम हुने भएकाले काठेपुल मार्फत गाडी मोटरसाइकल चलाउने गरिएको भए पनि वर्षात सुरु भएसँगै यि सबै बन्द भएका छन् ।

तिलागुफा नगरपालिका–९ का वडाध्यक्ष नरेन्द्रवहादुर रोकायाले भन्नुभयो, ‘‘हाम्रा चिन्ता लिने दिन आइसकेका छन् । अब मङ्सिर–पुससम्म गाडीको यात्रा गरेर शहर जाने बाटो बन्द हुन्छ । पुल बगाएको तीन वर्ष पुग्दा पनि यहाँ कसैको आँखा पुग्न सकेको छैन । तिलागुफा नगरपालिकाको तीन वटा वडाका साथै सिङ्गो महाँवै गाउँपालिकाका नागरिक यातायातबाट छ महिनासम्म बञ्चित हुने गरेका छन् ।’’

तिलागुफाको भैँसीगौडामा निमार्ण भएको पक्की पुल बाढीले बगाएयता पुनः पुल बनाउने विषयमा कतै पनि छलफल भएको छैन । स्थानीय बिर्ख सुनारले न नगरपालिकाले चासो लिएको छ न त प्रदेश, संघ सरकार कतैबाट यहाँका नागरिकको समस्यामा चिन्ता छ । सबैभन्दा नजिकको सरकार नगरपालिकाले चासो लिनु पर्ने हो, उसैले नलिएपछि अरुले कसरी थाहा पाउने सुनारले गुनासो गर्नुभयो ।

वडा नम्बर १० का वडा अध्यक्ष मुनबहादुर थापाले नगरपालिकामा पटक–पटक कुरा गर्दा पनि सुनुवाइ नभएकाले पछिल्लो समयमा भन्न पनि छोडिसकेको बताउनुभयो ।