गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २६ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ को अवलोकन गर्नुभएको छ ।
उहाँले सातै प्रदेशबाट छानिएका कलाकृति प्रदर्शनीमा देख्न पाइएको बताउँदै भन्नुभयो, “नेपाल कलामा कति धनी छ भन्ने कुराको यो एउटा प्रमाण हो । नेपाल पूरै घुम्नु परेन । सिङ्गो नेपालको कलाकृति, प्रतिभा र क्षमता यहाँ प्रदर्शन भएको छ ।” उहाँले नेपालमा पर्याप्त कला र संस्कृति रहेको बताउँदै यसलाई व्यवस्थित तरिकाले प्रचारप्रसार गर्दा सबै पक्षलाई फाइदा पुग्ने बताउनुभयो ।
प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८१’ मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी देशका ६५ जिल्लाका लोककला, शिल्प–हस्तकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला, समसामयिक/आधुनिक चित्रकला/मूर्तिकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला, प्रतिस्थापन, भावभङ्गीमा, फोटोग्राफी, भिडियो आर्ट, डिजिटल, कार्टुनलगायतका विविध विधाका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ को आयोजना गरेको हो ।