रेखीराम राना
तानसेन, जेठ २६ गते । पाल्पाको रम्भा गाउँपालिका–३, स्थित रिमिघा लेकमा भेटिएको वनस्पति यार्सागुम्बा भएको पुष्टि भएको छ । केही दिनअघि स्थानीय बासिन्दाले सुन्तला रोप्न खनेको खल्डोमा यार्सागुम्बा जस्तो देखिने वनस्पति भेटिएको थियो । सो वनस्पति परीक्षण गर्दा यार्सागुम्बा नै रहेको पुष्टि भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार ललितपुरले गरेको परीक्षणबाट रिमिघामा भेटिएको वनस्पति यार्सागुम्बा नै भएको प्रमाणित गरेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिनुभयो । पाल्पा जस्तो पहाडी जिल्लामा यार्सागुम्बा भेटिएको भन्ने आफूले पहिलो पटक जानकारीमा आएको उहाँले बताउनुभयो । ‘‘हिमाली जिल्लामा यार्सागुम्बा फेला परेको जानकारीमा भए पनि पहाडी जिल्लामा यार्सागुम्बा भेटिएको पहिलो पटक जस्तो लाग्छ ।’’ उहाँले भन्नुभयो ।
त्यस स्थानमा भेटिएको यार्सागुम्बा बेचबिखन नेपाल सरकारले गर्ने उल्लेख छ । सुचिकृत व्यवसायीलाई सरकारले प्रतिकिलो ३१ हजार रुपियाँमा यार्सागुम्बा बिक्रीका लागि अनुमति दिने प्रावधान रहेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ । त्यसका लागि केही समय लाग्ने वन अधिकृत भट्टराईको भनाइ छ ।
यार्सागुम्बा पाइएको क्षेत्रमा मानिसको आवतजावत बन्द गरिएको छ । यार्सागुम्बा पाइएको क्षेत्रमा सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । यस्तै रम्भाको वडा नं. २ को वन क्षेत्रमा पनि यार्सागुम्बा जस्तो जडीबुटी फेला परेको छ । राष्ट्रिय वन क्षेत्रमा पर्ने रिमिघा लेक समुद्र सतहदेखि एक हजार ७९४ मिटर उचाईमा रहेको छ । घना जङ्गलले घेरिएको यस क्षेत्र रम्भादेवी मन्दिर भएको क्षेत्र पनि हो ।