• १३ साउन २०८१, आइतबार

चिस्यान केन्द्र नहुँदा कृषक मर्कामा

blog

बुलबुले समाचारदाता

सुर्खेत, माघ ७ गते । सल्यानका किसानले छ वर्षअघि सुन्तला भण्डारण गर्न चिस्यान केन्द्र (कोल्ड स्टोर) स्थापनाको माग गरे पनि निर्माण हुन सकेको छैन । चिस्यान केन्द्र निर्माण नहुँदा स्थानीय किसान सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएका छन् ।

चिस्यान केन्द्रमा राखेर बजारको माग अनुसार बिक्री गर्न पाए धेरै आम्दानी गर्न सक्ने सम्भावना थियो, त्यसो नहुँदा सस्तोमा सुन्तला बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ । 

सल्यान बागचौर र शारदा नगरपालिका तथा सिद्धकुमाख तथा त्रिवेणी गाउँपालिकामा सुन्तला धेरै उत्पादन हुन्छ । किसानले सस्तोमै सुन्तला बिक्री गरेको बताएका छन् । 

चिस्यान केन्द्रको अभावमा सुन्तला भण्डारण गर्न नसक्दा सिजनमै प्रतिकिलो ५० देखि ७० रुपियाँमा सुन्तला बिक्री गर्न बाध्य भएको बागचौर नगरपलिका–८ का किसान भरतनाथ योगीले गुनासो गर्नुभयो । 

कृषि विकास निर्देशनालय सुर्खेतमा चिस्यान केन्द्र स्थापनाका लागि पटक पटक माग गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । गत वर्षको तुलनामा सुन्तला बिक्री कम मात्र भएको भन्दै उहाँले बारीमा लटरम्मै सुन्तला फले पनि बजारको अभाव रहेको जानकारी दिनुभयो । 

४६ रोपनी जग्गामा ९५० सुन्तलाका बिरुवा रहेका छन् । गत वर्ष ३२३ क्विन्टल सुन्तला बिक्री गर्नुभएका योगीले यो वर्ष फाट्टफुट्टबाहेक बिक्री नभएको बताउनुभयो । सुन्तला उत्पादन धेरै भए पनि चिस्यान केन्द्र नहुँदा बर्सेनि सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो । 

चिस्यान केन्द निर्माणको सामूहिक रूपमा माग गरिएको भए पनि सुनुवाइ नभएको सोही वडाका अर्का किसान दीपक चन्दले बताउनुभयो । उहाँले करिब २५ रोपनी जग्गामा सुन्तला खेती गरिरहनुभएको छ । 

गत वर्ष सुन्तला उत्पादनबाट १८ लाख आम्दानी गर्नुभएका चन्दले यो वर्ष बिक्री नभएको बताउनुभयो । चिस्यान केन्द्रको व्यवस्थापन नहुँदा सुर्खेत, बुटवल, भैरहवा, पोखरा, नारायणगढ, चितवन कैलालीबाट आएका व्यापारीले तोके अनुसारको मूल्यमा सुन्तला बिक्री गर्न बाध्य भएको किसानको भनाइ छ । 

सल्यानमा सुन्तला उत्पादन धेरै भएपछि मूल्य पनि घटेको छ । गत वर्ष सल्यानको सुन्तला प्रतिकिलो एक सय रुपियाँमा बिक्री भएको थियो । यस वर्ष जिल्लामा सुन्तला लगाइने क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादन र उत्पादकत्वसमेत बढेको कार्यालयका निमित्त प्रमुख रेसमकुमार बस्नेतले बताउनुभयो  । 

जिल्लामा ९८० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । गत वर्ष ३३ करोडको सुन्तला जिल्लाबाट निर्यात भएको थियो । दैलेखको दुल्लु नगरपालिकाका किसानले समेत सुन्तलाको उचित मूल्य नपाएको गुनासो गरेका छन् ।

वडा नं. ६ का कृषक लक्ष्मी खड्काले आफ्नो बारीको सुन्तलाले बजार नपाएको बताउनुभयो । गत वर्षसम्म यो समयमा बोटबाट सुन्तला बिक्री भइसक्ने गरेको भए पनि यो वर्ष रुखमै रहेको उहाँको भनाइ छ । 

एकातर्फ सुन्तलाको बजार छैन, अर्कोतर्फ न्यून मूल्य छ । सुन्तला ढिला गरी टिप्दा अर्को वर्ष उत्पादन घट्ने गरेको उहाँले बताउनुभयो । दैलेखमा यस पटक पनि सुन्तला उत्पादन राम्रो भएको बताइएको छ ।

जिल्लामा सात प्रतिशतले उत्पादन बढेको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिनुभयो  । गत वर्ष दैलेखमा छ हजार ३२३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । जिल्लाको एक हजार ७९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुन्छ ।