• १३ साउन २०८१, आइतबार

जैविक विविधता जोगाउन आवश्यक

blog

काठमाडौँ, माघ ७ गते । नेपाल कृषि जैविक विविधतामा सम्पन्न भएको देश हो र त्यसलाई जगेर्ना गर्नुपर्ने सरोकारवालाले धारणा राखेका छन् । 

दोस्रो कृषि जैविक विविधता दिवसका अवसरमा खाद्यका लागि कृषि अभियान, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र लिवर्ड नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरोकारवालाले सो धारणा राखेका हुन् । पछिल्लो समय कृषि क्षेत्रको जैविक विविधताको ह्रासले कृषि प्रणालीमा सङ्कट निम्त्याउन लागेको बताउँदै उनीहरूले यसको जगेर्ना गर्न आवश्यक रहेको कुरामा जोड दिए । 

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख मेघनाथ तिमिल्सिना र फरेस्ट एक्सन नेपालबाट लीलानाथ शर्माले आफ्नो प्रस्तुति दिनुभएको थियो ।  

कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले सर्भाइभल अफ फिटेस्टको सिद्धान्त अनुरूप केही बाली हराउँदै गएको र केही मानवकै व्यवहारका कारण पनि हराउन थालेको बताउनुभयो । विश्वव्यापी रूपमा बढ्दै गएको पर्यावरणको प्रभावको असर कृषि क्षेत्रमा परेको बताउँदै उहाँले त्यसलाई कुन हदसम्म रोक्न सकिन्छ भनेर साझा प्रश्न उठेको बताउनुभयो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले वन क्षेत्रको जैविक विविधताको विषयवस्तु नयाँ भएको बताउनुभयो । कृषि जैविक विविधतामा चुनौती थप्दै गएको बताउँदै उहाँले यसलाई जोगाउनका लागि हरेक सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो । 

सिक्किमका किसान सञ्जीव प्रधानले नेपाल र सिक्किम जस्ता पहाडी क्षेत्रमा सबै खाले जैविक विविधता उपलब्ध भएकाले जैविक विविधतामा धनी भएको बताउँदै पहाडी क्षेत्रमा भएको परिवर्तित खाद्य संस्कृतिले मानव स्वास्थ्य सङ्कटमा पुगेको बताउनुभयो । 

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका प्राध्यापक धर्म डङ्गोलले अनुसन्धान, अध्ययन र प्रसारलाई कृषि पर्यावरणको प्रवर्धन गर्न प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । अहिले किसानसँग प्राध्यापकसँग नभएको ज्ञान भएको तर त्यो सिकाइ प्रसार गर्ने व्यवस्था नहुनाले ज्ञानको प्रसारण हुन नसकेको उहाँले बताउनुभयो । राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष ल्याम दर्जीले गाउँबाट रैथाने उत्पादन सहरतिर आउन थालेको तर बदलामा गाउँघरमा केक र चाउमिन पुग्नु दुःखद भएको बताउनुभयो । 

कृषिविज्ञ देवेन्द्र गौचनले  कृषि पाठ्यक्रम, कार्यक्रम तथा नीति एकल खेतीको प्रवर्धन गर्न लक्षित भएकाले जैविक विविधता सरकारको प्राथमिकतामा पर्न नसकेको बताउनुभयो ।