प्रेमराज सिम्खडा
कालीकोट, माघ ७ गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–११, बराँतु गाउँका किसानले तरकारी र फलफूल खेतीलाई प्राथमिकता दिँदै आएका छन् । उत्पादनका हिसाबले उर्वर भूमि भएको बराँतु बस्ने नागरिक कोही पनि बेरोजगार छैनन् । कोही सरकारी सेवामा छन् भने कोही आफ्नै बारीमा तरकारी र फलफूल खेती गरेर स्वरोजगार बनिरहेका छन् । कृषि विकास कार्यालय कालीकोटले पनि सुरुदेखि विभिन्न अनुदान बराँतुलाई दिँदै आएको छ ।
सुन्तला, जुनार, कागतीलगायतका फलफूल र राम्रो तरकारी उत्पादन हुने बराँतुमा पछिल्लो समय किवी खेती गर्न थालिएको छ । कृषक हरिचन्द्र गिरीले किवी खेती गरेर राम्रो आम्दानी गरिरहनुभएको छ । व्यावसायिक रूपमा तरकारी तथा फलफूल खेती गर्दै आएका जिल्लाकै अगुवा किसान गिरीले पछिल्लो समय किवी खेती गर्न थाल्नुभएको हो । जिल्ला सदरमुकाम मान्म बजारलाई लक्षित गरी २५ वर्षदेखि व्यावसायिक तरकारी गर्दै आउनुभएका कृषक गिरीले सुन्तला र जुनार खेतीका साथै यस वर्षबाट किवी खेतीले उत्पादन दिन थालेपछि निकै खुसी हुनुभएको छ ।
उहाँले परीक्षणका लागि पोखराबाट पाँच र कीर्तिपुरबाट १५ गरी २० वटा किवीका बिरुवा रोपेको र यी बिरुवाले लोभलाग्दो गरी फल दिन थालेपछि व्यावसायिक रूपमा किवी खेती गर्न थालेको बताउनुभयो । कृषक गिरीले बराँतुमा रहेको दुई रोपनी जग्गामा किवी खेती गर्नका लागि एक हजार दुई सय बिरुवा रोप्नुभएको छ । किवीको बिरुवा रोपेको तीन वर्षपछि फल्न थाल्छ । सबै बिरुवा फल्न थालेपछि राम्रो आम्दानी लिन सकिने उहाँको विश्वास छ । कालीकोटमा यसअघि कसैले पनि किवी खेती गरेका थिएनन् । कृषक गिरी जिल्लाकै पहिलो किवी खेती गर्ने किसानका रूपमा परिचित बन्नुभएको छ ।
नगदेबालीको तुलनामा किवी खेतीबाट कम लगानीमा राम्रो आम्दानी लिन सकिने गिरीको भनाइ छ । उहाँका अनुसार यसपालि किवीबाट एक बिरुवाबाट एक क्विन्टलसम्म फलेको छ । किवी प्रतिकिलो तीन सय रुपियाँका दरले बिक्री गरिरहेको सुनाउनुभयो । अहिले भएका २० वटा बिरुवाबाट वार्षिक रूपमा २० क्विन्टल किवी उत्पादन भइरहेको छ । जसबाट सरदर छ लाख आम्दानी हुन्छ । समुद्री सतहदेखि आठ सयदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा किवी खेती हुने गरेको बताइन्छ । जुन भूभाग कालीकोटमा धेरै रहेको छ ।
किवीलाई बढी पौष्टिक आहारका रूपमा लिइन्छ । परम्परागत अन्नबालीको खेतीबाट भन्दा किवी खेतीबाट तीन गुणा बढी आम्दानी हुने गिरीको भनाइ छ । फलफूलको राजा उपनामले परिचित फल किवीलाई बजारीकरण गर्न समस्या नरहेको उहाँको अनुभव छ । स्थानीय सरकारले शीतभण्डारको व्यवस्था गरिदिएमा किवीलाई लामो समयसम्म स्टोर गरेर वर्षभरि नै बिक्रीवितरण गर्न सकिने कृषक गिरीको अनुभव छ ।