सामाजिक सञ्जाल हेरेर घरमा भएका सामान स्थान परिवर्तन गर्ने, विभिन्न मूर्ति या चित्र सजाउने, विभिन्न बिरुवा घरमा लगाउने या राख्ने जस्ता कार्य गरेर आफूले पूर्ण वास्तु मिलाएको भन्दै हिँड्ने गरेको पाइन्छ । सामाजिक सञ्जाल, युट्युब या कसैको घरमा देखेका कुनै पदार्थ अथवा चित्र आफूखुसी घरमा राख्ने तर त्यसले उत्पन्न गरेको नकारात्मक पक्ष थाहा नपाउने गर्दा लाभभन्दा हानि भइरहेको हुन्छ ।
जगत् पञ्चमहाभूतबाट सृजित छ । जति पनि पदार्थ छन्, कुनै न कुनै तत्त्वबाट निर्मित छन् । हामी मानव पनि यही पञ्चत्वबाट निर्मित छौँ । मानिस पनि पञ्चत्वको सन्तुलनबाट स्वस्थ र मस्त छ । सोचविचार र बुद्धिका कारण मानव पृथ्वीमा उत्कृष्ट प्राणीका रूपमा रहेको छ । अन्य प्राणी या जीवभन्दा मानिस भिन्न र उत्कृष्ट छ र पनि मानिस जीवनलाई अझ उत्कृष्ट र सहज बनाउन निरन्तर प्रयत्नशील छ, जसले नयाँ नयाँ शोध र अनुसन्धानबाट जीवन थप सरल, सहज र सुखमय बनाउन अभिप्रेरित गर्छ ।
वातावरण, विज्ञान र अध्यात्मका विभिन्न विषयमा मानिसले खोज गरिरहेको छ । भाव र कल्पनासँगै यथार्थको खोज अनुसन्धानमा एकपछि अर्को सफलता प्राप्त गरिरहेको मानिसका लागि वास्तुशास्त्र पनि एउटा अनुसन्धान र उपयोगको पाटो बनेको छ । किनकि मानिस सुरक्षित आवासमा बस्न चाहन्छ । त्यसैले ‘वास’ अर्थात् निवास सुखद र आनन्ददायी बनोस् भन्ने चाहना राख्नु स्वाभाविक हो । प्रकृतिमा पञ्चत्व छ र पदार्थमा विभिन्न तत्त्वको सम्मिश्रण छ । पञ्चत्व (पृथ्वी, जल, अग्नि, वायु र आकाश) को सन्तुलनले नै मानिसको जीवन सहज हुन्छ भन्ने वास्तुशास्त्रीय मान्यता हो । यसलाई केवल बाहिरी र सतही रूपमा मात्र हेर्ने र प्रयोग गर्ने प्रचलन व्यापक भएको छ, जसले वास्तुको वास्तविक लाभ उठाउन सकिएको छैन ।
हाम्रा वरपर निर्मित निवासमा पञ्चत्व को वास्तविक सन्तुलन मिलाउन सकिएको देखिँदैन । प्रकृतिमा रहेको जुन जुन तìव जहाँ जहाँ छ, तत् तत् तत्त्वलाई तत् तत् स्थानमा स्थापित गराउनु सामान्य सकारात्मक पक्ष हो र यही आधारमा निर्माण गर्दा व्यवस्थित रूपले स्थापित हुनु पर्छ भन्ने वास्तुको मूल मान्यता हो । सामान्यतया प्रकृतिका पाँच तत्त्वलाई भवन निर्माण या वस्तु स्थापनामा समुचित स्थानको चयन गरिने पद्धतिलाई वास्तुशास्त्र अनुकूल मानिन्छ । वस्तुमा आफ्नै ऊर्जा हुन्छ र त्यो ऊर्जालाई प्राकृतिक ऊर्जाविपरीत प्रयोग गरिनु हुँदैन भन्ने वास्तुशास्त्रको मूल ध्येय हो । तत्वहरूको सन्तुलनका आधारमा निर्माण भएको भवनमा सकारात्मक ऊर्जा हुन्छ भने असन्तुलित अवस्थामा भए ऊर्जा नकारात्मक बन्छ । मूल वास्तुको चुरो कुरो यही हो ।
वास्तुलाई सामान्यतया १० दिशाका आधारमा हेरिन्छ । पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान, आग्नेय, नैऋत्य, वायव्य, आकाश र पाताल अर्थात् भूमि । यी सबै दिशा शुभ हुन्छन् । हरेक दिशा आफै महत्त्वपूर्ण जिम्मेवारीमा छन् । कुनै पनि दिशा सदाका लागि र सबैका लागि शुभ या अशुभ भन्ने हुँदैन । जसरी वर्षात्को पानी र हिउँदको घाम प्यारो हुन्छ, त्यसरी नै जीवनका गति, कार्य, ग्रहहरूको प्रभाव, जन्मकालीन ग्रहजनित अवस्था, पेसा, व्यवसाय, उद्देश्य अनुसार विभिन्न दिशाको ऊर्जा सकारात्मक र नकारात्मक हुन सक्छ । जसरी प्रकृतिको आफ्नै नियम छ, त्यसरी नै वास्तुशास्त्रमा पनि आफ्नै प्राकृतिक नियम र सन्तुलन छ । त्यसको सकारात्मक प्रयोगले शुभत्व प्रदान गर्छ भने गलत प्रयोगले दुष्परिणाम पनि दिन्छ । हामीले चयन गरेको भूमि या भवनको ईशानकोण कमाउने मानिस, पारिवारिक सुख शान्ति तथा पहिलो सन्तानको प्रतिनिधित्व गरिरहेको हुन्छ । यदि यस क्षेत्रमा कुनै वास्तुदोष छ भने आम्दानी गर्ने मानिस, पहिलो सन्तान, पारिवारिक खुसी प्रभावित हुन थाल्छ । यसरी नै प्रत्येक दिशाको फरक फरक प्रतिनिधित्व छ र फरक फरक वास्तुदोष र परिणाम छ ।
आग्नेय कोण मालिकको सुख र सम्पदासँग सम्बन्धित छ । यही कोणको अवस्थाले प्रशासनिक क्षेत्रको शुभत्व या अशुभत्व, महिला र दोस्रो सन्तानको अवस्थालाई प्रतिनिधित्व गरिरहेको हुन्छ । यदि आग्नेय कोणमा वास्तुदोष छ भने महिलामा समस्या देखिन थाल्छ, दोस्रो सन्तान पीडित हुन सक्छ, समृद्धि र सम्पदामा कमी आउनु र प्रशासनिक झमेलामा फस्नु जस्ता समस्या देखा पर्न थाल्छन् । यसरी दस वटै दिशाको वास्तविक अवस्थालाई हेरी जाँची जसले जुन क्षेत्र, व्यक्ति र पदार्थको प्रतिनिधित्व गर्छ, त्यहीसँग सम्बन्धित उपचार गरेर समस्या समाधान गर्न सकिन्छ तर समाजमा यी सबै कुराको गहन अध्ययन नगरी देखासिकी रूपमा वास्तुको स्वउपचार गर्ने चलन व्यापक भएको छ । यसले उल्टो र नकारात्मक प्रभाव दिइरहेको छ ।
सामान्यतया भवन या निर्माण स्थलको दिशागत तत्त्वको आधारमा मात्र वास्तुदोष भन्ने पनि हुँदैन । त्यसको उपयोग गर्ने मानिस, उसको कार्य÷पेसा या व्यावसायिकता जस्ता कुराले पनि काम गरिरहेको हुन्छ । विद्यार्थीको लक्ष्य विद्या आर्जन हो भने व्यवसायी या व्यापारीको लक्ष्य धन आर्जन हो । एउटै स्थान एकका लागि उत्तम र अर्काका लागि खराब हुन सक्छ । उपयोग र उपभोगका आधारमा वास्तुका उल्लिखित दस वटा दिशालाई प्रयोगमा ल्याउन सक्नु पर्छ । वास्तुका दस वटा दिशालाई व्यक्तिको कर्मका आधारमा पनि वर्गीकरण र आवश्यकता अनुसारको फरक उपचार हुन्छ र हुनु पर्छ तर अहिले वास्तुका नाममा विभिन्न भ्रमात्मक गतिविधि व्याप्त भएको पाइन्छ ।
सामाजिक सञ्जालमा आएका विभिन्न टुक्का सुनेर या कसैको घरमा कुनै वस्तु देखेर आफैँ आफ्नो वास्तु उपचार गर्ने र समस्यामा फस्नेहरूको कारण वास्तविक वास्तु व्यवस्थापनले सही उपचार पाउन सकेको छैन । सामाजिक सञ्जाल हेरेर घरमा भएका सामान स्थान परिवर्तन गर्ने, विभिन्न मूर्ति या चित्रहरू सजाउने, विभिन्न बिरुवा घरमा लगाउने या राख्ने जस्ता कार्य गरेर आफूले पूर्ण वास्तु मिलाएको भन्दै हिँड्ने गरेको पाइन्छ । सामाजिक सञ्जाल, युट्युब या कसैको घरमा देखेका कुनै पदार्थ अथवा चित्रहरू आफूखुसी घरमा राख्ने तर त्यसले उत्पन्न गरेको नकारात्मक पक्ष थाहा नपाउने गर्दा लाभभन्दा हानि भइरहेको हुन्छ ।
हो, वास्तु उपचारमा विभिन्न वस्तुको प्रयोग गरिन्छ । पञ्चत्वको सही व्यवस्थापनका लागि आवश्यक तत्त्वको थपघट गर्न विभिन्न धातुको प्रयोग हुन्छ । स्थान र अवस्था हेरेर विभिन्न मूर्तिको प्रयोग गर्न सकिन्छ । सहजता हेरेर रङहरूको संयोजन फेरबदल गरिन्छ । चित्रलाई उपयोगमा ल्याई वास्तु सकारात्मक बनाउन सकिन्छ । जल, अग्नि, अन्न जस्ता सहज उपलब्ध हुने पदार्थहरूलाई वास्तुदोष निवारणका लागि प्रयोगमा ल्याइन्छ तर कसैको घरमा घोडाको चित्र देख्यो कि आफ्नो घरमा राख्ने, कुनै बिरुवा देख्यो कि आफैँ ल्याएर घरमा राख्ने, कुनै मूर्ति या चित्र स्थापित गर्ने कार्य कदापि शुभ हुँदैन । कसैले कुनै उद्देश्यले कुनै स्थानमा स्थापित गरेको वस्तु आफ्नो घरमा राख्दा थप भ्रम सिर्जना हुन्छ ।
रोगी या बिरामीको उपचारको सहजताका लागि कसैको घरमा राखिएको दृश्यावलोकन राम्रो लाग्यो भन्दैमा बेरोजगारको घरमा राख्दा रोजगारीमा सहजता आउँदैन । मासु बेच्ने मानिसले प्रयोग गर्ने उपचार विधि पूजा पसलमा गर्दा मिल्ला त ? आर्थिक तनावले दाम्पत्य जीवनमा पनि खटपट ल्याएको पाइन्छ तर आर्थिक समस्याले पीडित परिवारमा सफल दाम्पत्य जीवनको कामनाले राखिने राधाकृष्णको चित्रले काम गर्दैन । त्यसैले समस्याको कारण थाहा पाएर मात्र उपचार गर्नु बुद्धिमानी हुन्छ । वास्तुका नाममा अर्काको घरमा भएका वस्तु या पदार्थ देखासिकी गर्दै आफ्नोमा भित्र्याउने, सामाजिक सञ्जालमा आएका सामान्य कुरा सुनेर वास्तु मिलाउन खोज्ने जस्ता भ्रमले नकारात्मक काम गरिरहेको हुन सक्छ । तसर्थ वास्तुका नाममा अनावश्यक भ्रममा नपरी यथार्थ बुझेर मात्र समाधान या उपचार गरिनु पर्छ ।