• १३ साउन २०८१, आइतबार

साझा एकताले देश बन्छ : मुख्यमन्त्री कार्की

blog

निशा राई

धरान, माघ ३ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनैपनि देश बन्नलाई साझा एकता चाहिने बताउनुभएको छ । रगत सङ्कलनमा सहयोग पुर्‍याउने लक्ष्यसहित कोशी प्रदेशका लागि गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल सङ्घ (एनआरएन)ले घुम्ती रगत सङ्कलन बस सेवा हस्तान्तरण गर्ने कार्यक्रममा क्रममा उहाँले देश बन्नलाई हामी सबैको एकताले हुने र हामी सबै मिल्यौ भने देश बन्ने बताउनुभएको हो । 

बुधबार नेपाल रेडक्रस सोसाइटी सुनसरी, धरानको कार्यालयमा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले अहिले पनि हाम्रो समाजमा कलिलो उमेरमा विवाह हुने र बच्चा जन्माउने बाध्यता भएकोले कतिपय महिलाहरूले रगतको अभावमा ज्यान गुमाउन बाध्यता रहेको बताउनुभयो । 

घुम्ती रगत सङ्कलन बस सेवाको कारण जाँदाजाँदै बाटोमा ब्लड दिन पनि सक्छ र ब्लड दिएर ज्यान पनि बचाउन पनि सक्ने भएकोले यसको लागी गैरआवासिय नेपाल सङ्घ (एनआरएन) प्रति आभार प्रकट गर्दै कोशी प्रदेशको सबै जिल्लामा लागू हुने गरी सही सदुपयोग गर्ने बताउनुभयो । 

हाल नेपालमा रहर र बाध्यता दुवै किसिमका परिवारका व्यक्तिहरू बिदेसिने गरेको उहाँले बताउनुभयो । गाडी बङ्गला हुने पनि विदेश जाने र रोजीरोटीको लागी पनि बिदेसिने गरेको मुख्यमन्त्री कार्कीको भनाइ छ । तथापि देशको लागी माया गरेर चन्दा दिनु भन्दा हामीलाई एक–एक डलर दिनुस् हामी लगानी लगाईदिन्छौं त्यो पैसाको ब्याजले समाजसेवा गर्नु तर चन्दाको रूपमा हामीलाई मगन्ते नबनाइदिन र चन्दा दिएर नेपाली मगन्ते हो भन्ने प्रमाणित नगरिदिन आग्रह समेत गर्नुभयो । 

गैरआवासिय नेपालीहरूको सहयोगमा गैरआवासिय नेपाल सङ्घ (एनआरएन)ले कोशी प्रदेशलाई लक्षित गर्दै नेपाल रेडक्रस सोसाइटी धरान सुनसरीबाट प्रदेशभरि बस सञ्चालन हुने गरी बस उपलब्ध गराएको हो । गैरआवासिय नेपाल सङ्घ (एनआरएन) सङ्घका अध्यक्ष डा.बद्री के.सीले कोशी प्रदेशको मुख्य मन्त्री कार्कीलाई चाबी बुझाउँदै रगत सङ्कलन बस सेवा उपलब्ध गर्नुभएको हो ।

"एक घर, एक रक्तदाता भन्ने मूल नाराका साथ सो घुम्ती बस अब रक्तदाताको घरमै गएर रगत सङ्कलन गर्ने जनाइएको छ । सो बसभित्र दुई वटा बेड छन् । रक्तदाताहरूले आफू भएकै क्षेत्रमा बसलाई बोलाई रक्तदान गर्न सक्नेछन् । अहिलेसम्म रक्तदाताहरू रक्त सञ्चार केन्द्रमा पुगेर वा विभिन्न सङ्घ-संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा गएर रक्तदान गर्थे", अध्यक्ष केसीले भन्नुभयो । अब रक्तदाताको घरमै पुगेर रगत सङ्कलन गर्न सकिने उहाँले बताउनुभयो ।  

बिदेसिनु रहर होइन बाध्यता हो र विदेशी भूमिमा बसे पनि नेपाललाई धेरै माया गर्ने भएकोले आफ्नो पसिनाको एक–एक पैसा भएपनि संसारभर रहेको गैरआवासिय नेपाल सङ्घ (एनआरएन) ले जम्मा गरेर यो बस सहयोग गरेको अध्यक्ष केसीले बताउनुभयो । 

नेपालको सात वटै प्रदेशमा यो बसको सेवा पुर्‍याउने लक्ष्य रहेकोले अब अन्य प्रदेशमा समेत हस्तान्तरण गर्ने उहाँले बताउनुभयो । एक व्यक्तिले जति सहयोग गर्न सक्छ संस्थागत भयो भने त्यो भन्दा धेरै सहयोग गर्न सक्छ भन्ने बुझेर २० वर्षअघि स्थापना गरिएको संस्थामा हाल १ लाख बढी पञ्जिकरण सदस्य रहेको अध्यक्ष के.सी.ले बताउनुभयो। 

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जीविकोपार्जनको लागि वैदेशिक रोजगारमा गएर दुःख गरेर पनि देशलाई माया गरेर देशमा रहेको अभावलाई बुझेर सहयोग गरेकोमा गैरआवासिय नेपाल सङ्घ (एनआरएन) प्रति आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको सभापति उमेश थापा, प्रतिनिधि सभाको पूर्व सांसद मिना सुब्बा, डा.हेमराज शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्य राजीव कोइराला लगायत राजनीतिक दलका प्रतिनिधिहरू, धरान उपमहानगरपालिकाको जनप्रतिनिधि र सरकारी गैर सरकारी निकायका प्रमुखहरूको उपस्थिति थियो ।