राधा लुइटेल
फिदिम, माघ १ गते । किराँत समुदाय आज नयाँ वर्ष मनाएका छन् । यो समुदायले माघे सङ्क्रान्तिको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन् ।
किराँत नयाँ वर्षलाई किराँत समुदायअन्तर्गतका लिम्बूहरुले कुसङ यले तङबे र राईले यले दङका रुपमा नयाँ वर्ष मनाएका हुन ।
यस्तै, सुनुवार र याक्खाले पनि माघ १ गतेकै दिन नयाँ वर्ष मनाएका छन् । माघे सङ्क्रान्तिसँगै किराँती पात्रोमा संवत फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका किराँतीहरुले किराँत नयाँ वर्ष धूमधाम साथ मनाउने गरिएको इतिहासका जानकार लक्ष्मण लावतीले बताउनुभयो ।
किराँत नयाँ वर्ष पाँचथर, तेहथुम, ताप्लेजुङ, इलाम, झापा, धनकुटालगायतका जिल्लामा भव्यता पूर्वक मनाइन्छ ।
यस्तै, किराँत लिम्बूहरु सघन बसोवास रहेका काठमाडाँै, ललितपुरसँगै हङकङ र सिंहापुरसम्म यो पर्व उल्लासपूर्वक मनाएको हो ।
यो अवसरमा धान र च्याब्रुङ नाँच्नका साथै वनभोज खाने,कन्दमुल खाने, हाक्पारे, ख्याली र पाःलाम आदि पनि गाउने गरिन्छ ।
किराँती पात्रो अनुसार यो वर्षको माघ १ गतेदेखि यले तङबे ५०८४ सुरु भएको छ ।
किराँत संवत नेपालमा हाल प्रचलनमा रहेको विक्रम संवतभन्दा ३ हजार ४ वर्ष जेठो रहेका इतिहासका जानकार हरिचन्द्र लावती बताउनुहुन्छ ।
यले तङ्गवे किराँती राजा यलम्बरले नेपालमा शासन शुरु गरेपश्चात् मनाउन थालिएको इतिहास रहेको किराँत इतिहासका जानकार राजेन्द्रप्रसाद जवेगु बताउनुहुन्छ ।
उहाँका अनुसार माघे सङ्क्रान्तिदेखि लेकाली भूभागमा पाइने चाँप प्रजातीको फूल फुल्न सुरु हुन्छ । त्यसैले लिम्वू समुदायले माघे सङ्क्रान्तिलाई ककफेवा तङनाम भनेर पनि मनाउने गरिएको हो ।
लिम्वू भाषामा कक भनेको चाँप, फेवा भनेको फुल्ने र तङनाम भनेको सिजन अर्थात ककफेवा तङनाम भनेको चाँप फुल्ने सिजन हो ।
यो ज्येष्ठ सदस्य अर्थात अभिभावकले बन तरुल कालो हुने गरी पोलेर परिवारका अन्य सदस्यलाई टिका लगाउँदै आशीर्वाद दिने चलन रहेको उहाँले बताउनुभयो ।