• ११ मंसिर २०८१, मङ्गलबार

माघ लहैली सुरिक सिकार खैली रे हाँ...

blog

मघौटा नाच नाचेर रमाइँदै । तस्बिर सौजन्य : सुवन चौधरी

अविनाश चौधरी
धनगढी, माघ १ गते ।

माघ लहैली सुरिक सिकार खैली रे हाँ,

सखीये हो माघक् पिली गुरी गुरी जाँर...

कुहिरो र शिरशिर बताससँगै जाडो चरमचुलीमा छ । यो चिसो मौसममा मघौटा नाचगान एवम् गीतबासले थारु बस्ती भने तातिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म रमाइ रहेका छन् । महान् पर्व एवम् नयाँ वर्ष माघ (माघी) को उल्लास थारु समुदायमा छाएको हो । 

यो समुदायका मानिस हर्षोल्लास पूर्वक आफ्नो ठुलो पर्व मनाइ रहेका छन् । थारु बस्ती मघौटा नाच, ढमार, ढुमरु गीतले गुञ्जायमान बनेको छ । परम्परागत मघौटा नाचगानले गाउँ रौनक बनेको धनगढी उपमहानगरपालिका–१६ भादा गाउँकी द्रोपती चौधरीले बताउनुभयो ।

थारु समुदायमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म माघ पर्व धूमधामपूर्वक मनाउने चलन रहेको छ । यो पर्वको पहिलो दिन पुस मसान्त हो । यस दिन बिहानै जिता मार्ने गरिन्छ । हरेकको घरमा सुँगुरको मासुसहित मिठा परिकार पाक्ने गर्दछ । यस दिन ढमार, ढुमरु गीत र मघौटा नाचमा रमाउँदै मिठामिठा परिकार खाने चलन रहेको गौरीगङ्गा नगरपालिकास्थित नुक्लिपुरका दिनेश चौधरीले बताउनुभयो । माघको पहिलो दिन थारु सम्वतको अन्तिम दिन हुने गरेकाले यस दिन वर्षभरीको दुःख पीडा बिर्सेर रमाउने परम्परा रहेको रहेको छ । 

माघ १ गते थारु समुदायको नयाँ वर्ष हो । आजबाट थारु संवत् २६४७ सुरु भएको छ । आफ्नो नयाँ वर्षको दिन यो समुदायका मानिस बिहानै नदी, तलाउ, खोलामा नुहाएर आफूभन्दा ठुलालाई ढोगसलाम गर्ने र सानालाई आशीर्वाद दिने गर्दछन् । यसदिन रिसराग, आपसी वैमनस्यता, झैझगडा सबै बिर्सेर एक आपसमा आत्मियता दर्साउनुका साथै शुभकामना आदानप्रदान गर्ने चलन छ । यसैगरी, मासु, ढिक्री, तरुल लगायतको परिकार खाने र आफन्तहरूलाई खुवाउने गरिन्छ । यस दिन एक अर्कालाई सेवाढोग गरेमा रिसराग, आपसी वैमनस्यताको अन्त्य हुने विश्वास थारु समुदायमा रहेको छ ।

माघ २ गते अर्थात् माघ पर्वको अन्तिम दिन खोज्नीबोज्नी हो । यस दिन अघिल्लो आर्थिक वर्षको समीक्षा गर्दै नयाँ वर्षको लागि योजना बनाउने गरिन्छ । यसैगरी, यही दिन गाउँको नेतृत्व गर्ने व्यक्ति चयन गर्ने चलन पनि रहेको छ । माघ पर्वको अन्तिम दिननै आफ्ना विवाहित छोरीचेलीलाई उपहारको रूपमा चामल दिने गरिन्छ, जसलाई निसराउ भनिन्छ । यसैदिन बालबच्चालाई माघ मेला घुमाउन लैजाने पनि गरिन्छ । 

माघ थारु समुदायका लागि स्वतन्त्रताको पर्व पनि हो । तत्कालीन समयमा कमैया, कम्लहरीले माघमामात्रै मालिकको घरबाट छुटकारा पाउने गर्दथे । माघबाट मुक्त कमैया, कम्लहरीको जीवनमा नयाँ अध्याय सुरु भएका कारण नाचगान गरेर स्वतन्त्रताको पर्वको रूपमा मनाउने गरेको कृष्णपुर नगरपालिका–२ वाणी मुक्त कमैया बस्तीकी बिस्मतिदेवी चौधरीले बताउनुभयो । “नाचगान गर्दै धूमधामका साथै हामी माघ मनाउँछौँ”, उहाँले भन्नुभयो ।

माघ पर्व सकिएसँगै थारु समुदायमा विवाह, नयाँ घर बनाउने लगायतका कार्यको सुरुवात हुने गर्दछ । माघ धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक महत्त्व बोकेको पर्व रहेको थारु अगुवा दिलबहादुर चौधरीको भनाइ छ ।

‘थारुले मनाउने पर्व माघ हो, माघी होइन’

थारु समुदायले मनाउने पर्व माघी नभई माघ पर्व रहेको सो समुदायका अगुवा, बुद्धिजीवीहरूले स्पष्ट पार्नु भएको छ ।

धेरैजसो ठाउँमा माघी पर्व भनिएकोप्रति आपत्ति जनाउँदै उहाँहरूले आफ्नो मौलिक पर्व माघ रहेको बताउनु भएको हो । “माघी कसले मनाउँछ, मलाई थाहा छैन । मेरो पुर्खाले मनाउँदै आएको मौलिक पर्व माघ हो”, थारु बुद्धिजीवी एवम् साहित्यकार छविलाल कोपिलाले भन्नुभयो ।

उहाँका अनुसार थारु गाउँघरमा माघ खैना (माघ खाने), माघ लहैना (माघ नुहाउने), माघ मनैना (माघ मनाउने) जस्ता शब्दहरू प्रचलनमा रहेको छ । पहिलेदेखि चलनचल्तीमा रहेको कुनै पनि शब्दमा माघी न भनिएकाले थारुले मनाउने पर्व माघ रहेको उहाँको तर्क छ ।

माघ पर्वलाई कञ्चनपुरदेखि दाङसम्मका थारुले माघ, कपिलवस्तु र रुपन्देहीका थारुले खिचरी, नवलपरासी, चितवनका थारुले खिचरा र पूर्वतिरका थारुले तिला सङ्क्रान्ति भन्ने गरेको बताइएको छ । कुनै पनि जिल्लाका थारुले माघ पर्वलाई माघी नभनेकाले थारु मौलिक पर्वलाई जबरजस्ती माघी नबनाउन थारु अगुवाहरूको आग्रह छ ।

पुर्खाहरूले बोलीचालीको भाषामा ‘माघ टिहुवार’ भनेको र आफूहरूले पनि माघ भन्दै आएकाले थारुहरूले मनाउने पर्व माघ रहेको थारु अगुवा सोम डेमनडौराको भनाइ छ । थारु समुदायका व्यक्तिको लवजले जे बोल्छ, त्यही मौलिक र सत्य रहेको उहाँले उल्लेख गर्नुभयो । डेमनडौराले भन्नुभयो,“हामीले भन्ने त माघ हो, तर हाम्रो लवज बोल्न अप्ठ्यारो मान्नेहरूले हाम्रो मौलिक पर्वलाई बिगारेर आफू अनुकूल जबरजस्ती माघी बनाइ दिए । हामीले मनाउने पर्व माघी होइन ।” थारु शब्दकोषमै माघी पर्व नरहेको अर्का साहित्यकार जीत ट्रासनले बताउनुभयो ।