शंकर केसी
सल्यान, वैशाख २९ गते । सल्यानको कपुरकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू गरिरहेका बेला गाउँपालिकाले भने स्थानीय आवश्यकता अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
गाउँ कार्यपालिकाको आज बसेको ११ औँ बैठकले शनिबार मात्र बिदा दिने तथा आइतबार नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।
गाउँपालिकाले मातहतका सबै सामुदायिक र संस्थागत विद्यालयलाई सोही निर्णयअनुसार विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।
नेपाल राजपत्रमा २०८२ चैत २२ गते प्रकाशित सूचना अनुसार चैत २३ गतेदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू भएको थियो । तर कपुरकोट गाउँपालिकाले विद्यालय सञ्चालन तालिका परिमार्जन गरेको हो ।