• १३ साउन २०८१, आइतबार

आज र भोलि पानी पर्न सक्ने

blog

काठमाडौं, माघ १ गते । आजदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज देखि पश्चिमकी वायुको प्रभाव बढी रहने भएका कारण हल्का वर्षाको सम्भावना रहेको छ । उहाँले भन्नुभयो, “सोमबार रातिदेखि वायूको प्रभाव अलि बढी प्रभाव रहने भएकाले मङ्गलबारसम्म सामान्य वर्षाको सम्भावना रहेको छ । तराईमा भने वर्षाको सम्भावना छैन ।”

वर्षा भए पनि १० मिलिमिटरभन्दा कम नै वर्षा हुने उहाँको भनाइ छ । आज रातिदेखि गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मङ्गलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार तराईमा लागिरहेको हुस्सु समेत भोलिदेखि हट्दै जानेछ ।

उहाँले भन्नुभयो, “आजदेखि तराई क्षेत्रमा वायुमण्डल स्थिर रहँदा बिहानदेखि हुस्सु लागेको छ । पश्चिमी वायुको प्रभावका कारण भोलिदेखि वायुमण्डल चलायमान हुने भएकाले तराई क्षेत्रमा लागेको हुस्सु हट्दै जानेछ ।”