• १२ साउन २०८१, शनिबार

किसानसँग रमाउँदै एफएओका महानिर्देशक दोङयु

blog

किसानसँग रमाउँदै दोङ । तस्बिर: गोरखापत्र

काठमाडौँ, पुस २९ गते । फाँटभरी आलुखेतिको हरियाली । सिजनका काउली, बन्दा, लसुन, प्याजहरू उस्तै लहलहाउँदै थिए । सधैँ खेत बालीको स्याहारमा भुल्ने काभ्रेको कुन्त बेसीका किसानलाई शनिवार भने दसैँ आए जत्तिकै भयो । कोही खेतमा गएनन् । गाउँमा दुई वटा खसी ढालेर भोज बनाइयो ।

मूल सडक र आसपास ध्वजापताकाले चिटिक्क पारेर सजाइएको गाउँमा जब संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक छु दोङयुले पाइला टेक्नुभयो । बाजागाजासहित गाउँलेले हर्षोल्लास मनाए । विश्वकै खाद्य तथा कृषि हेर्ने उच्च व्यक्तित्व गाउँ प्रवेश गरेकाले पनि किसानको उहाँलाई हेर्ने लहर लामो थियो । “किसान बुझ्ने यति ठुलो मान्छे अहिलेसम्म हाम्रो गाउँमा आउनु भएकै थिएन,” कान्छी दाहालले भन्नुभयो ।

दोङयुले पनि स्थानीयको हर्षोल्लासमा साथ दिनुभयो । वरिपरि सुरक्षाकर्मीले घेरिए पनि त्यो हटाउँदै किसानको हातबाट माला र फूल ग्रहण गर्दै शिर निउरादै अघि बढ्नुभयो । एक घण्टाको औपचारिक कार्यक्रमपछि उहाँ किसानका बाली हेर्न बारीमा पस्नुभयो । निर्मला पौडेलको बारीमा लगाइएका आलुको बोट हुर्कदै थिए । एउटा बोट उखालेर टुप्पादेखि फेदसम्म नियाल्नुभयो र सोध्नुभयो, कसको बारी हो हो ?

नजिकै रहनु भएकी निर्मला पौडेलले “मेरो बारी हो” भन्नुभयो । “बोटहरू निकै राम्रा रहेछन्, वर्षको कति कमाउनुहुन्छ ?,” दोङयुले फेरि सोध्नुभयो । “आलु बेचेरै उ यो घर बनाएको हो,” पौडेलले नजिकैको नयाँ घर देखाउँदै जवाफ दिनुभयो । “ओ हो, यति धेरै बारी, घर अनि यो घाँटीमा लगाएको सुन पनि त महँगो होला, तपाईँ त धनी हुनुहुँदो रहेछ,” दोङयुले थप्नुभयो । 

जवाफमा पौडेलले आफ्नो नौ जनाको संयुक्त परिवार रहेको र सबैको आम्दानीको स्रोत खेति किसानी नै रहेको बताउनुभयो । तर गाउँमा आफूभन्दा धेरै जग्गा भएको अरू किसान पनि भएकाले आफू मध्यम वर्गमा पर्ने बताउनुभयो । त्यस्तै किसान सुशीला लम्सालले गाउँमा हुने खेतिमा उत्पादन र बजारीकरणका लागि धेरै सहयोगको आवश्यकता रहेको सुनाउनुभयो । महानिर्देशक दोङयुले गाउँका किसानको स्वास्थ्य रक्षार्थ सुरु गरिएको विषादी छर्ने ड्रोनको उद्घाटन र बिरुवामा कुन रोग लागेको छ भनेर तत्काल पत्ता लगाउने एप्सको अनावरण पनि गर्नुभयो । सो क्रममा किसानले कसरी खेती गर्छन्, कस्ता खेती लगाउँछन् र कसरी बजारसम्म पुर्याउछन् भन्ने बारेमा निकै सोधिखोजी गर्नुभयो । 

एकिृत शत्रुजीवी कार्यक्रम(आइपिएम) सञ्चालन गरेर अहिले गाउँ बिस्तारै अर्ग्यानिक प्रविधितिर अघि सर्दै गएको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोक बहादुर बाईवाले नगरपालिकाका ७५ प्रतिशत किसान रहेको जानकारी औपचारिक कार्यक्रममा दिनुभयो । किसानको अधिकांश उत्पादन प्रयोग हुने गरी नगरकोटलाई कृषि पर्यटनमार्फत विश्वमा चिनाउने प्रयासमा नगरपालिका लागेको उहाँले बताउनुभयो । हाल १२ वडासम्म सञ्चालित जैविक प्रणालीलाई नगर भरी फैलाउने प्रतिबद्धता प्रमुखले जनाउनुभयो । 

औपचारिक कार्यक्रममा महानिर्देशक दोङयुले नेपालका किसानलाई आवश्यक सहयोग गर्न सङ्गठन तयार रहेको र छ्ट्टिै धेरै खालका प्रविधि तथा अनुदानमूलक सहयोग दिलाउने आश्वासन दिनुभयो । सो विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गहन छलफल भएको उहाँले बताउनुभयो । उहाँले किसानका कुरा सुन्नु मात्र भएन किसानसँग मादलको तालमा छमछमी नाच्नुभयो । गाउँका महिलाले तयार पारेको आइपिएम प्रवद्र्धनमुलक गीतमा उहाँ निकै रमाउनुभयो । कृषि वैज्ञानिक समेत रहनु भएका उहाँले काभ्रेमा हुने खेती प्रणाली र त्यहाँको उत्पादनलाई हातमा छामेर, नाकमा सुँधेर त्यसको गुणस्तरको अवलोकन गर्नुभयो । पुरुषभन्दा बढी खेती किसानीमा आबद्ध रहेकोमा उहाँले खुसी व्यक्त गनुभयो । दोङयुलाई सुरक्षाको कारण देखाउँदै त्यहाँ खाना खाने अनुमति दिइएन । तर उहाँको आगमनको खुसीयालीमा उहाँ फर्कनुभए लगत्तै गाउँलेहरू भने भोजमा रमाउनुभयो ।