काठमाडौँ, पुस २६ गते । नेकपा एमाले निकटको युवा संगठन राष्ट्रिय युवा सङ्घ नेपाल र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीचको मैत्रीपूर्ण फुटसल ५–५ को बराबरीमा सकिएको छ ।
केपी ओली कप–२०८० को प्रचार–प्रसारको लक्ष्यसहित बिहीबार आयोजित मैत्रीपूर्ण फुटसलमा एनएसजेएफले ५–१ ले पछि परेको अवस्थाबाट पुनरागम गर्दै खेल बराबरीमा ल्याएको हो । युवा सङ्घका मिसन राईले ह्याट्रिक गर्नुभयो । क्षितिज थेवे र मिलन बमले एक एक गोल थप्नुभयो । एनएसजेएफका शिशिर बस्नेतले ह्याट्रिक गर्दा अभिनव जोशी र बासु ढेके अवालले एक एक गोल थप्नुभएको थियो ।
केपी ओली कपको दोस्रो संस्करण फागुन ११ देखि २० गतेसम्म आयोजना हुने तालिका छ । यसअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो ।
प्रतियोगिताको फाइनलबाहेक सबै खेल च्यासलस्थित एन्फाको मैदानमा हुनेछ । फाइनल खेल भने शरथ रंगशालमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि खुला आह्वान गरिने र त्यसपछि सहभागी टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ । नेपालका ‘ए’ डिभिजन र विदेशी टोलीलाई प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले ५ लाख रुपियाँ पाउनेछन् । यसैगरी, उत्कृष्ट खेलाडीले एक लाख रुपियाँ पाउनेछन् । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिने छ । हरेक खेलको ‘म्यान अफ दि म्याच’ले १५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।