• १४ मंसिर २०८१, शुक्रबार

प्रहरी समायोजनपछिको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन

blog

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । फाइल तस्बिर

मोरङ, पुस २४ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रहरी समायोजनापछिको तयारीका लागि जुट्न निर्देशन दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आज अनुगमन गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश सरकारला प्रहरी समायोजन गरी हस्तान्तरण गर्न लागेकाले यस सम्बन्धमा आवश्यक तयारी गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको हो ।  

मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन भएपछि त्यसको सञ्चालन, सरुवा तथा बढुवाको विधि निर्माण गर्न पूर्वतयारीमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “जनताको दैनिकीका साथै शान्ति सुरक्षामा प्रत्यक्ष रुपमा जोडिएको यस मन्त्रालयले जनतालाई महसुस हुने गरी काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री कार्कीले बजेट पूर्णरुपमा कार्यान्वयन गरेमा मात्र जनतासमक्ष सरकार पुगेको महसुस हुने बताउनुभयो ।

“ट्राफिक सप्ताह होइन, प्रत्येक दिन ट्राफिक अभियान चलाउन र सडकमा जडान गरिएका सिसी क्यामेराको प्रभावकारीरुपमा अनुगमन गर्नुपर्छ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो । सो अवसरमा मन्त्रालयका कर्मचारीले प्रदेशका १४ जिल्लामध्ये नौ जिल्लाको नक्साङ्कन एकीकृत गर्ने काम भइरहेको र बाँकी जिल्लाको कार्य चाँडै सम्पन्न गरिने मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए । रासस