• २५ वैशाख २०८१, मङ्गलबार

राष्ट्रिय सभा सदस्य निर्वाचन : उम्मेदवारी दर्ता आज

blog

काठमाडौँ, पुस २३ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रमबमोजिम सोमबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको राजधानीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुने छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै तयारी पूरा भएको र निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयभित्र मनोनयन दर्ता हुने जानकारी दिनुभयो । उहाँले मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको, उम्मेदवारको योग्यता र अयोग्यताका विषयमा स्पष्ट निर्देशन दिइसकेको तथा कालोसूचीका व्यक्तिको नामावली निर्वाचन अधिकृतको कार्यालयमा पठाएको बताउनुभयो । 

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले प्रदेशमा रिक्त हुन लागेको समूहबाट नै मनोनयन दर्ता हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेशमा एक/एक जना महिला र पुरुष समूहतर्फ रिक्त हुन लागेकोमा उम्मेदवारी दिँदा राजनीतिक दलले सोही समूहबाट उम्मेदवारी दिनुपर्ने छ । 

प्रदेशगत आधारमा कोशी, मधेश र लुम्बिनीबाट दुई/दुई जना, बागमतीबाट चार तथा गण्डकी, सुदूरपश्चिम र कर्णालीबाट तीन/तीन सदस्यको निर्वाचन हुने छन् । समावेशी समूह अन्तर्गत अन्य र महिला समूहबाट सात/सात, दलितबाट दुई तथा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट तीन सदस्य निर्वाचित हुने छन् । 

राष्ट्रिय सभामा रिक्त हुन लागेका २० मध्ये १९ सदस्यका लागि माघ ११ गते मतदान हुने छ । त्यसअघि पुस २३ गते सोमबार उम्मेदवारी दर्ता हुने, मङ्गलबार उम्मेदवारको विरोधमा उजुरी दिने, बुधबार र बिहीबार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा शुक्रबार उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । 

मतदाता नामावली प्रकाशन

निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातवटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको जानकारी दिनुभयो । 

प्रकाशित नामावली अनुसार सात वटै प्रदेशमा प्रदेश सभा सदस्यतर्फ कुल ५४९ र स्थानीय तहतर्फ एक हजार ४९८ मतदाता छन् । एक जना प्रदेश सभा सदस्य र स्थानीय तहका एक/एक जना अध्यक्ष, उपाध्यक्ष र उपप्रमुखको निधन भएकाले मतदाता नामावलीबाट नाम यसअघि नै हटाइएको थियो । 

त्यसै गरी गाउँपालिकाका एक अध्यक्ष र नगरपालिकाका चार प्रमुख निलम्बनमा पर्दा मतदाता नामावलीबाट नाम हटाइएको छ । मतदाता नामावलीबाट प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी नौ जनाको नाम हटाइएको छ । मतदान गर्न अयोग्य रहेकामा पाँच जना मधेश प्रदेशका छन् । चार जना सप्तरीका र एक जना रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख छन् । 

आयोगका अनुसार प्रदेश सभातर्फको कुल मतभार २९ हजार ९७ र पालिकातर्फको कुल मतभार २८ हजार ४६२ कायम भएका छन् । यसरी राष्ट्रिय सभा सदस्यका लागि सात वटै प्रदेशबाट प्रदेश सभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको गरेर ५७ हजार ५५९ मतभार कायम भएका छन् ।

 राष्ट्रिय जनगणना २०७८ को परिणामबमोजिम प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ ।