छविलाल पाण्डे
बुटवल, पुस २२ गते । बुटवल उपमहानगरपालिकाले बुटवलका विभिन्न स्थानका सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान सुरु गरेको छ ।
सार्वजनिकस्थलमा संरचना बनाएका ठाउँ खाली गरेर विश्रामस्थल, पार्क र चौतारी निर्माण गर्ने उद्देश्यले सार्वजनिक स्थलमा निर्माण भएका घरटहरा हटाउने अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत आइतबार बुटवल उपमहानगरपालिका वडा नम्बर ५ हाटबजार लाइनका तीन वटा टहरा र नेपालगञ्ज रोडको एउटा टहरा भत्काइएको छ ।
सार्वजनिक स्थलमा निर्माण भएका टहरा हटाउन पटक-पटक पत्राचार गरे पनि टहरा नहटाएपछि आइतबार इलाका प्रहरी कार्यालय बुटवल, नगर प्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा ती टहरा हटाएको वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालगञ्ज रोडमा सार्वजनिक स्थल र सडक क्षेत्रमा पर्ने वडा नम्बर ५ का बाँकी टहरा हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर ६ र अरू वडामा पनि सार्वजनिक स्थलको संरक्षण गर्दै पार्क र चौतारी निर्माण गर्ने अभियान बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको छ।
बुटवललाई उपयुक्त विश्रामस्थलका रूपमा विकास गर्नका लागि पर्यटकीय स्थल, पार्क, चौतारी, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षमा केही स्थानमा मोडेलका रूपमा केही चौतारी निर्माण गरिनेछ र आगामी आर्थिक वर्षमा बुटवलका सबैजसो वडामा पार्क र चौतारी निर्माण गरिनेछ ।