• २३ वैशाख २०८१, आइतबार

स्वरकी अब्बल ‘सुप्रिमा’

blog

अहिले ११ वर्षकी भइन् सुप्रिमा थापा । हिमाली बोर्डिङ पिङ्गलास्थानमा ५ कक्षामा अध्ययनरत थापाले सानै उमेरमा कला क्षेत्रमा भविष्य खोजिरहेकी छन् । गीत गाउने, नृत्य गर्ने र अभिनयमा पनि पोख्त सुप्रिमा भर्सटाइल हुन् । अहिलेसम्म २७ वटा व्यावसायिक गीतमा आफ्नो स्वर र अभिनय प्रस्तुत गरेकी सुप्रिमाको आफ्नै युट्युब च्यानल पनि छ ।

उनको युट्युब च्यानलमा २७ लाखभन्दा बढी सब्सक्राइबर पुगिसकेका छन् । भविष्यमा सफल कलाकार बन्ने योजना बनाएकी सुप्रिमाको पढाइ पनि तेज छ । कक्षामा प्रथम हुने सुप्रिमाले आफ्नो कलामार्फत प्राप्त गरेका ट्रफी, सम्मानपत्र र पुरस्कारको कुरै नगरौँ । सानैदेखि गाउने र नाच्ने कुरामा लगाव भएकी सुप्रिमा धेरै प्रतियोगितामा भाग लिएर पुरस्कार पनि जितेकी छन् । उनको प्रतिभा कुनै एउटा विशेष विधामा सीमित छैन । बालबालिकाका लागि ¥याइम्सदेखि आधुनिक, लोकगीत सबैमा आफ्नो प्रतिभा प्रस्तुत गरेकी छन् ।

सुप्रिमालाई पढाइ र आफ्नो कलालाई सँगै लैजान सजिलो नभएको सुनाउँछिन् तर पढाइ र कला दुवैलाई सन्तुलनमा मिलाएर राम्रो नतिजा ल्याउन सकेकोमा खुसी लाग्ने बताउँछिन् ।

पढाइ र कला दुवैलाई अगाडि बढाउने योजना बनाएकी सुप्रिमाले कला क्षेत्रमा लाग्दा पढाइलाई व्यवस्थापन गर्न केही गाह्रो भए पनि केही गर्छु भन्ने इच्छाशक्ति भएमा समस्या नहुने बताउँछिन् । नेपाली साङ्गीतिक क्षेत्रमा बालगायक–गायिकाले पनि राम्रै चर्चा पाउने गरेका छन् । दिनानुदिन नयाँ नयाँ प्रतिभा आउने क्रम पनि जारी छ ।

आफ्नो प्रतिभा प्रस्फुटनका लागि घरपरिवार र विद्यालयको ठुलो भूमिका रहने बताउने सुप्रिमा घरपरिवार र विद्यालयबाट पाएको हौसलाले अगाडि बढ्न सजिलो भएको बताउँछिन् । 

प्रस्तुति : गीता पौडेल