गजेन्द्र गुरुङ
खजुरा, वैशाख १५ गते । बाँकेको नरैनापुर गाउँपालिकाको वडा ३ स्थित एक गाउँमा मङ्गलबार बिहान आगलागी भएको छ । आगलागीबाट नौ वटा घर र चार गोठ गरी १३ वटा संरचनामा पूर्णरूपमा क्षति पुगेको छ ।
इलाका प्रहरी कार्यालय भगवान्पुरका प्रमुख प्रहरी निरीक्षक गणेशराज उप्रतीले नरैनापुर गाउँपालिका-३, गेग्ली गाउँमा मङ्गलबार बिहान आगलागी भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आगलागीबाट स्थानीयका फुसको छानो भएका नौ वटा कच्ची घर र चार वटा गोठ गरी १३ वटा संरचनामा पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट मानवीय तथा चौपायाको क्षति नभए पनि गौँ, चामल, दाल, लत्ता कपडा लगायतका सम्पूर्ण सामानहरू जलेर नष्ट भएका उहाँले जानकारी दिनुभयो ।
उहाँले मङ्लबार बिहान करिब ४ः५० बजेबाट आगलागी भएको बताउनुभयो । आगलागी भएको जानकारीपश्चात् नेपालगन्ज उपमहानगरपालिकाको एउटा दमकल तथा नरैनापुर गाउँपालिकाको एउटा गरी दुई वटा दमकल बोलाइएको थियो ।
इलाका प्रहरी कार्यालय भगवान्पुरका प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहायतामा बिहान साढे ९ बजेतिर आगलागी पूर्णरूपमा नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।
आगलागी के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको तथा क्षतिको विवरण सङ्कलन कार्य भइरहेको प्रहरी निरीक्षक उप्रेतीले बताउनुभयो ।