• १४ असार २०८१, शुक्रबार

सर्वहारी र वैद्यलाई पुरस्कार

blog

काठमाडौँ, पुस २२ गते । उपन्यासकार धुस्वाँ सायमिको नाममा स्थापित दुई पुरस्कार यस वर्ष प्रदान गरिने भएको छ । उपन्यास विधामा प्रदान गरिने गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार यस वर्ष थारू भाषाका उपन्यासकार डा. कृष्णराज सर्वहारीलाई प्रदान गर्ने निर्णय भएको छ भने धुस्वाँ सायमि सिर्जना पुरस्कार वरिष्ठ गायक एवं सङ्गीतकार योगेश वैद्यलाई प्रदान गर्ने निर्णय भएको छ ।

गङ्की धुस्वाँ–वसुन्धरा प्रतिष्ठानका अध्यक्ष डा. अरुण सायमिको अध्यक्षतामा शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो । गङ्की धुस्वाँ वसुन्धरा पुरस्कार नेपाली, नेपाली भाषालगायत नेपालका विभिन्न मातृभाषामा लेखिएको उपन्यास विधाका लागि हरेक दुई वर्षमा प्रदान गरिन्छ । यस वर्ष थारू भाषामा दुई उपन्यास लेखिसकेका उपन्यासकार सर्वहारीलाई यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । त्यस्तै धुस्वाँ सायमि सिर्जना पुरस्कारबाट पुरस्कृत वरिष्ठ गायक यागेश वैद्यका नेपाली र नेपालभाषामा सयौँ गीत रहेका छन् ।

उपन्यास विधाका लागि प्रतिष्ठानले विमल भौकाजीको संयोजकत्वमा नवीन चित्रकार र सुरेश किरणसहित गठन गरेको उपसमितिले सर्वहारीको नाम सिफारिस गरेको हो भने सङ्गीत विधाका लागि हरिहर शर्माको संयोजकत्वमा प्रतिसरा सायमि र प्रकाश जिसीसहित गठन गरेको अर्को उपसमितिले वैद्यको नाम सिफारिस गरेको हो । पुरस्कार यही आउँदो माघ १ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा एक कार्यक्रमकाबिच प्रदान गरिने छ । दुवै पुरस्कार ५० हजार रुपियाँ रहेको छ ।