खलङ्गा समाचारदाता
दार्चुला, असार ३१ गते । विगतका आयोग, समिति र कार्यदलबाट काम बाँकी रहेका दार्चुलाको शैल्यशिखर नगरपालिका–६ का अव्यवस्थित बसोबासीलाई सोमबार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।
नेपाल सरकार भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाले यहाँका ४५ जनालाई प्रमाणपुर्जा वितरण गरेको समितिका अध्यक्ष लालसिंह धामीले जानकारी दिनुभयो ।
शैल्यशिखर नगरपालिकाको–६, पनेबाँजमा आयोजित कार्यक्रममा अव्यवस्थित बसोबासीलाई पहिलो पटक जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो । ८० वर्षीय अइता धमेनीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो । अव्यवस्थित बसोबासीलाई प्रमाणपुर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका सदस्यसचिव एवं नापी कार्यालय दार्चुलाका कार्यालय प्रमुख टिकेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
कार्यक्रममा शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ति खडायतले आयोग गठन भएपश्चात् पहिलो पटक नगरवासीलाई घरदैलोमै प्रमाणपुर्जा वितरण गर्नु ऐतिहासिक काम भएको बताउनुभयो । नगरक्षेत्रभित्र बाँकी रहेका अव्यवस्थित बसोबासीलाई आयोगसँगको समन्वयमा छिट्टै प्रमाणपुर्जा वितरण गर्ने उहाँले प्रतिबद्धतासमेत जनाउनुभयो ।
प्रमाणपुर्जा वितरण गर्दै जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडू कश्यपले अव्यवस्थित बसोबासीलाई जग्गाधनी बनाउनु पर्छ भनेर सरकारले आयोगको गठन गरेको बताउनुभयो । विगतमा पनि जग्गाविहीनलाई सेतो प्रमाणपुर्जामार्फत जग्गाको स्वामित्व प्रदान गरेको उहाँले बताउनुभयो । राजनीतिक स्थायित्व नभएका कारण विभिन्न समयमा गठन भएका आयोग बेला बेला विघटन हुने गरेका कारण काम गर्न कठिनाइ हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आजदेखि तपाईंहरूले जग्गाको स्वामित्व प्राप्त गर्नुभयो, यो खुसीको दिन हो ।”
स्थानीय तहको साथ पाए तीन वर्षभित्र जिल्लाको भूमिसम्बन्धी सबै समस्या हल गर्ने भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका सबै अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने लक्ष्य छ, सबै जनप्रतिनिधि र स्थानीय तहले साथ दिनु प¥यो ।”
शैल्यशिखर नगरपालिका–६ का ४५ जनालाई २९४ रोपनीको प्रमाणपुर्जा वितरण गरिएको हो । उनीहरूबाट सात लाख तीन हजार ८५४ रुपियाँ राजस्व सङ्कलन गरिएको छ । जग्गाधनीले १० वर्षसम्म ती जग्गा बिक्री गर्न नपाउने नापी कार्यालय दार्चुलाका कार्यालय प्रमुख टिकेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।
जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेपछि स्थानीय खुसी हुनुभएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले यसअघि जिल्लाका १७ जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिसकेको छ । दार्चुला जिल्लामा हाल दुई हजार २५५ जना अव्यवस्थित बसोबासी रहेको भूमि आयोगको तथ्याङ्क छ ।