• १२ असोज २०८१, शनिबार

रोकिएका कानुनको आउने अधिवेशनबाट टुङ्गो लाग्छ : मुख्यमन्त्री शाह

blog

नेपाल प्रेस युनियन डडेलधुरा शाखाले शुक्रबार डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाह ।

पुष्पकर भण्डारी

डडेलधुरा, पुस २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अब सुरु हुने सदनको अधिवेशनमा राजधानीलगायत रोकिएका ऐन, कानुन, नीतिहरुको विषय टुङ्गो लाग्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन डडेलधुरा शाखाले शुक्रबार जिल्ला सदरमुकाम डडेलधुरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले निर्णय हुन नसकेका कामहरुले गतिलिने बताउनुभएको हो । ‘आउने सदनमा अहिले तोकिएकै क्षेत्रमा राजधानी बनाउनका लागि सबै प्रक्रिया पूरा गर्नुपर्छ भन्नेमा हामी लाग्छौं’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘त्यो सम्भव भएन भने अन्य विकल्वबारे छलफल सुरु गर्छाैं ।’ 

मुख्यमन्त्री शाहले सुदूरपश्चिमको राजधानीका लागि उपयुक्त जुनसुकै क्षेत्रका विषयमा पनि छलफल गर्न सकिने बताउनुभयो । ‘प्रधानमन्त्रीज्यूसँग पनि हामीले अहिले तोकिएको क्षेत्रमा राजधानी बनाउन सबै प्रक्रिय पूरा गरिदिन आग्रह गरेक छौं’ पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले थप्नुभयो, ‘त्यहाँ सम्भव हुँदैन भने अन्य विकल्पबारे छलफल गर्छाैं भनेर हामीले भनिसकेका छौं ।’

२०७५ साल असोजमा तत्कालीन प्रदेश ७ को प्रदेशसभा बैठकले नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरीस्थित वन क्षेत्रलाई घोषणा गरेको थियो । तर अहिलेसम्म राजधानी स्थापनाका लागि जग्गा प्राप्तिको प्रक्रियासमेत पूरा भएको छैन । 

यस्तै, पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले अब सुरु हुने प्रदेशसभाको अधिवेशनमा विजनेशको कमी नहुने बताउनुभएको छ । ‘पछिल्लो एक वर्षमा सञ्चालन भएका प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यले समसामयिक विषयमा आवाज उठाउने काम गर्नुभयो’ मुख्यमन्त्री शाहले भन्नुभयो, ‘अब सुरु हुने प्रदेश सभाको अधिवेशनमा बिजनेसको कमी हुँदैन । नयाँ ऐन, कानुन पनि जारी हुन्छन् ।’

विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ विकास तथा प्राकृतिक स्रोत र सामाजिक विकास समितिका चारवटा समितिमा पनि सभापति लगायतका सदस्यहरु मनोनीत गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब मनोनयन गर्न बाँकी छ । अबको अधिवेशनबाट यी लगायत आम सञ्चार नीति समेत पारित गरिनेछ । ऐन, कानुन पारित भए सुदूरपश्चिम प्रदेशले विकासमा झन् गति लिने उहाँले बताउनुभयो । 

मुख्यमन्त्री शाह विकासे योजनाको अनुगमन तथा निरीक्षण गर्न जिल्ला भ्रमणका क्रममा डडेलधुरा पुग्नुभएको थियो । सोहीक्रममा मुख्यमन्त्री शाहले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायसँग भेटघाट तथा छलफल पनि गर्नुभयो । प्रदेश सरकारबाट सञ्चालित योजनाको अवस्था र प्रगति बुझ्न दार्चुला, बैतडी र डडेलधुरा पुगिसक्नुभएका मुख्यमन्त्री शाहको अन्य पहाडी जिल्लाको भ्रमण सकेर अन्तिममा कैलाली र कञ्चनपुरको भ्रमण गर्ने कार्यक्रम छ ।