बेनी (म्याग्दी) पुस २० गते । म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरुपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो ।
माघे सङ्क्रान्तिमा आयोजना हुने मेलाको जगेर्ना हुनाका साथै कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित तीनदिने मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिनुभयो ।
मेलालाई सफल बनाउन विभिन्न २२ उपसमिति गठन गरिएको सो समितिले जनाएको छ । उद्योग वाणिज्य सङ्घ, जिल्लामा रहेका स्थानीय तह, सरकारी कार्यालय तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा परम्परागत मेलालाई निरन्तरता दिन लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मेलामा कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको सहकार्यमा कृषि मेला पनि आयोजना गरिने भएको छ ।
मेलामा खुला नृत्य र आमाहरूको एकल लोकनृत्य प्रतियोगिता मुख्य आकर्षण रहने भएको छ । खुला नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २० हजार, १० हजार र पाँच हजार तथा आमाहरूको एकल लोकनृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, छ हजार र तीन हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
अन्धनिसान, महिला पुरुषको लठो तान्ने र छेलो फाल्नेलगायत प्रतियोगितासमेत मेलामा समावेश गरिएको महिला आयोजक समितिका महासचिव प्रमीला श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा जिल्लामा रहेका विभिन्न जातजाति, सङ्घसंस्था र समूहको पहिचान झल्कने झाँकी पदर्शनीसहित स्थानीय र राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत रहनेछ ।
बेनीमा वर्षौँदेखि सञ्चालन हुँदै आएको यो मेलाको निरन्तरतासँगै कला र संस्कृतिको संरक्षण तथा व्यापार व्यवसाय वृद्धिसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । उहाँले मेला आयोजना हुने खुलामञ्चमा यसपटक म्याग्दीका व्यवसायी र उद्यमीका मात्रै व्यापारिक कक्ष रहने जानकारी दिनुभयो । परम्परागतरुपमा लाग्दै आएको मेलालाई व्यवस्थितरुपमा सञ्चालन गर्न वि.सं.२०५७ देखि म्याग्दी उद्योग वाणिज्य सङ्घले निरन्तरता दिँदै आएको छ । रासस