• १२ मंसिर २०८१, बुधबार

ललितपुर महानगरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

blog

ललितपुर, पुस २० गते । ललितपुर महानगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । ललितपुर महानगरले आयोजना गरेको उक्त प्रतियोगिताको महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा ६६ वटा खेल विधामा विद्यार्थी सहभागी हुने छन् ।

महानगरभित्रका ५० विद्यालयका एक हजार छात्रछात्रा खेलमा सहभागी भएका छन् । भलिबल, दौड, रिले, लङजम्प, हाइजम्प, कपर्डी, कराते, तेक्वान्दो लगायतका खेलमा विद्यार्थीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको अधिकांश योजना र कार्यक्रम बालबालिका र विद्यार्थी लक्षित भएको बताउनुभयो । खेलकुदको विभिन्न विधाको विकासका लागि महानगरले धेरै काम र लगानी गरेको बताउनुहुँदै खेलाडीलाई प्रोत्साहित गर्नु महानगरको कर्तव्य भएको स्पष्ट पार्नुभयो । उहाँले महानगर शिक्षा क्षेत्रको हब भएको दाबी गर्नुभयो ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मानसिक, शारीरिक विकासका लागि खेल अत्यावश्यक भएको बताउनुभयो । खेलले व्यक्तिलाई अनुशासित बनाउने बताउनुहुँदै जीवनलाई खेलसँग ट्याली गर्न सक्नु महत्त्वपूर्ण भएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘खेललाई जीवन जस्तो होइन, जीवनलाई खेलजस्तो बनाउन सक्नुभयो भने, विद्यार्थी भाइबहिनीले सबैतिर राम्रो गर्न सक्नुहुन्छ ।’’

सामाजिक विकास विकास समितिका अध्यक्ष एवम् प्रवक्ता राजु महर्जनले यो पटकको रनिङ शिल्ड प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको बताउनुभयो । प्रतियोगिता सहभागी भएपछि हार र जीत सामान्य भएको उहाँले स्पष्ट पार्नुभयो । विद्यार्थीलाई संयमित भएर खेल्न अनुरोध गर्नुहुँदै खेलकुद मानव जीवनको महत्त्वपूर्ण पाटो भएको बताउनुभयो । 

सामाजिक विकास समितिका सदस्य एवम् वडा नंं.१८का अध्यक्ष दामोदर खड्काले अनुशासित मर्यादित जीवनका लागि खेलकुद महत्त्वपूर्ण हुने बताउनुभयो । खेलाडीलाई प्रोत्साहित गर्न महानगरले थुप्रै कार्यक्रमहरू आयोजना गरेको बताउनुभयो । विद्यार्थीले प्रतियोगितामा गरेको प्रस्तुतिले विद्यार्थी स्वयम् र विद्यालयको पहिचान बताउने खड्काको भनाइ थियो ।