विश्वप्रसिद्ध चित्रकार पाब्लो पिकासोले भनेका छन्, “हामी ६० वर्ष पुगेपछि जवान हुन थाल्छौँ ।” पिकासोको यस भनाइलाई विभिन्न अर्थमा बुझ्ने गरिएको छ । उनका समकालीन स्रष्टाको विचारमा पिकासो युवामाझ देखिने स्वतन्त्रताप्रतिको अनुराग र सिर्जनात्मकताले ६० वर्षको जीवन भोगाइ र अनुभवबाट मात्र निखार पाउनेमा विश्वास गर्थे । त्यसो भए सिर्जनाका लागि उमेर बाधक नहुने भयो । हुन पनि हेरौँ न, असाधारण कूटनीतिक कौशल र क्षमतालाई आफ्नो पहिचान बनाएका अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरले सय वर्षको उमेरमा आफ्नो मृत्यु हुनु ठिकअघि दुइटा पुस्तक हामीलाई छोडेर गए । दुवैको विषय थियो, ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात्, कृत्रिम प्रज्ञा । उनी एआई प्रविधिका विज्ञ थिएनन् तर आजको विश्वलाई यसले पर्ने प्रभावका बारेमा उनले ठुलो जानकारी राखेका रहेछन् ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पनि हेरौँ न । १०१ वर्षमा मृत्यु हुनुअघिसम्म उनी आफ्नो अन्तिम महाकाव्य ‘ऋतम्भरा’ सिध्याउन लागिपरेका थिए, यद्यपि उनले यो कृति अधुरै छोड्नु प¥यो । उनको मृत्यु भएको दुई वर्षपछि ‘ऋतम्भरा’ प्रकाशित भइसकेको छ । यसै कोटीमा पर्छन् साहित्यकार/लेखक मदनमणि दीक्षित पनि । दर्शन र साहित्यका क्षेत्रमा १९ वटा गहन कृति छोडेर ९७ वर्षको उमेरमा संसारबाट बिदा भए उनी । त्यसको एक वर्षअघि उनले आफ्नो अन्तिम पुस्तक ‘मेरी माता’ प्रकाशित गरेका थिए । उमेरका कारणले कलम चलाउन गाह्रो पर्न थालेपछि उनी आफ्नो लेखनलाई ‘डिक्टेसन’ का माध्यमबाट निरन्तरता दिँदै थिए ।
उमेरको असर
यसको अर्थ पाको उमेरले बौद्धिक क्षमता र सिर्जनात्मकतालाई असर गर्दैन भन्ने चाहिँ होइन । बढ्दो उमेरसँगै आफ्नो स्नायु प्रणाली कमजोर हुन थाल्ने अनुभव हामी सबैले गरिराखेकै छौँ । खास गरी, राजनीति र अन्य पेसागत क्षेत्रमा उमेरले विवेकको प्रयोगमा कस्तो असर गर्छ भन्ने विषयमा अग्रणी सोच राख्ने अनुसन्धानमध्ये एक परिचित नाम हो डेविड ओवेन । बेलायती संसद्को माथिल्लो सदन (हाउस अफ लर्ड्स्) का सदस्य र पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका लर्ड ओवेन स्नायुविज्ञ हुन् । मन्त्री हुनुअघिसम्म उनी अस्पतालमै काम गर्थे । उनको अनुभवमा ७० वर्षकै उमेरदेखि मानिसको निर्णय क्षमता खुम्चिन थाल्छ । सार्वजनिक नेतृत्वमा हुनेले यस कुरालाई मनन गरी सव्रिmय नेतृत्वको आफ्नो चाहनामा लगाम लगाउनु पर्छ ।
पछिल्लो अमेरिकी राष्ट्रपतिको चुनावमा डोनाल्ड ट्रम्प र जो बाइडेन दुवै जना उमेरकै कारणले राष्ट्रपति हुन अयोग्य छन् भनी सार्वजनिक बहस गरेपछि ओवेनले खुब चर्चा कमाएका थिए । उमेर र निर्णय क्षमतासम्बन्धी आफ्ना निष्कर्षलाई ओवेनले आफ्नै राजनीतिक जीवनमा पनि लागु गरेका छन् । दुई वर्षअघि ८६ वर्षको उमेरमा उनले हाउस अफ लर्ड्सबाट राजीनामा गरे, जहाँ उनी आजीवन सदस्यका रूपमा मनोनीत भएका थिए । स्मरण रहोस्, ओवेनको यो मापदण्ड सव्रिmय नेतृत्वका लागि हो; अन्य भूमिकामा पाको उमेरलाई समस्याका रूपमा हेर्नै पर्छ भन्ने छैन ।
प्रतिभा प्रस्फुटन दोस्रो चरणमा
उता व्यवस्थापन विधाका ‘दार्शनिक’ को छवि बनाएका र ‘दी टाइम्स’ पत्रिकाबाट ‘गुरु’ को उपनाम पाएका चाल्र्स ह्यान्डी भने बढ्दो उमेरलाई नयाँ किसिमको काम थालेर बढी सिर्जनात्मक बनाउन सकिने तर्क गर्छन् । उनको पुस्तक ‘दी सेकेन्ड कभर्’ ले यस तर्कलाई बलियो ढङ्गले प्रस्तुत गरेको छ । युवावस्थामा ह्यान्डी आफैँ सेल कम्पनीका जागिरे थिए । उमेर ढल्कँदै गएपछि उनले लेखनलाई आफ्नो दोस्रो ‘करिअर’ का रूपमा अँगाले । दुई वर्षअघि ९२ वर्षको उमेरमा मृत्यु हुने बेलासम्म उनी लेखनमै समर्पित रहेर ठुलो सफलता हासिल गरे । उनको अन्तिम पुस्तक मृत्युपछि प्रकाशित भएको छ, जसमा उनले कसरी दीर्घ र सुखी जीवन बाँच्न सकिन्छ भन्ने विषयलाई आफ्नै अनुभवको आलोकमा नियालेका छन् ।
उमेर पाको हुँदै गएपछि लेखनलाई नै दोस्रो ‘करिअर’ का रूपमा अँगाल्नेमा ख्यातिप्राप्त भारतीय लेखक गुरुचरण दास पनि पर्छन् । ह्यान्डी जस्तै उनी पनि निजी क्षेत्रको कम्पनी ‘प्रोक्टर एन्ड ग्याम्बल’ का कर्मचारी थिए । यस कम्पनीको आकर्षक जागिर छाडेर उनी ५२ वर्षको उमेरदेखि लेखनमा लागे । आफ्ना कृतिमा दास गहिरो ढङ्गले जीवनको उद्देश्यको खोजी गर्छन् । यसैबिच उनले हिन्दु धर्म अन्तर्गत जीवनका चार उद्देश्य– धर्म, अर्थ, काम र मोक्षका बारेमा एक÷एक वटा किताब लेखेका छन् । उनको कलम अहिले ८३ वर्षको उमेरमा पनि चलिरहेकै छ ।
यसबाट के देखियो भने उमेर र सिर्जनात्मकताको सम्बन्धलाई कुनै एउटा खास सूत्रमा अटाउन गाह्रो हुन्छ । यो व्यक्तिपिच्छे फरक हुने कुरा हो । अर्थात् सबै मानिसलाई एउटै डालोमा हालेर हेर्न सकिँदैन । एउटा खास उमेर सङ्ख्यालाई (जस्तै ६० वर्ष वा ७० वर्ष) व्यक्तिको बौद्धिक र सिर्जनात्मक क्षमतासँग जोडेर हेर्नु व्यावहारिक हुँदैन ।
उमेर एक प्राविधिक कुरा
अहिले जैविक प्रविधि, कृत्रिम प्रज्ञा र आनुवंशिक अध्ययनको विकास जस्ता कारणले गर्दा हाम्रो उमेरलाई कृत्रिम ढङ्गबाट लम्ब्याउन पनि सकिने भएको छ । यस क्षेत्रका अग्रणी चिन्तक युवल नोहा हरारी अबको एक/दुई शताब्दीभित्रै मानिसको उमेरलाई १५० वर्षसम्म लम्ब्याउन सकिन्छ भन्ने तर्के गर्छन् । उनको विचारमा अबको समयमा मृत्यु स्वयं एक ‘प्राविधिक समस्या’ का रूपमा रहने छ । अर्थात् यसको समाधान पनि उपलब्ध हुने छ । शरीरको री–इन्जिनियरिङद्वारा आफ्नो आयु बढाउनेतर्फ केही मानिस लागिसकेका पनि छन् । तीमध्ये एक हुन् अमेरिकी अर्बपति ब्रायन जोन्सन । उनी अहिले आफू बुढो क्रमलाई राम्रैसँग घटाउने काममा लागेका छन् । सामान्य मानिसको तुलनामा ६९ प्रतिशतको दरले मात्र बुढा भइरहेका छन् । हरेक १२ महिनामा आफू साढे सात महिना मात्र बुढो हुँदै गरेको दाबी उनले गरेका छन् । हुन पनि हालै ४९ वर्ष पुगेका जोन्सनका शारीरिक लक्षण भने १८ वर्षको युवकका जस्ता छन् । उनको लक्ष्य हो– अमरत्व । जोन्सनको यस्तो अभ्यास सफल हुने कुरामा सम्बन्धित क्षेत्रका कतिपय विज्ञ विश्वस्त भइसकेका भने छैनन् ।
‘उच्च मानव’ र ‘बेकामे वर्ग’
यसरी उमेर बढ्दै जाँदा पनि आफ्नो युवावस्थालाई कायमै राख्ने उद्देश्य निकै खर्चिलो चाहिँ हुन्छ । जोन्सन यसका लागि वर्षको २० लाख डलर खर्च गर्छन् । उनी शुद्ध शाकाहारी खाना खान्छन् र दैनिक सय वटाभन्दा बढी रोग नियन्त्रक औषधी लिन्छन् । स्पष्ट पारौँ, जोन्सन एक उदाहरण मात्र हुन् । अन्य केही धनाढ्य पनि बुढोपनलाई रोक्ने प्रयासमा लागेका छन् । विश्वका सर्वाधिक धनीहरूको सूचीमा चौथो र पाचौँ स्थानमा रहेका जेफ बेजोस र मार्क चुकरबर्ग पनि बढ्दो उमेरमा बुढोपनलाई कसरी उल्टाउन सकिन्छ भन्ने विषयको अनुसन्धानमा प्रशस्त लगानी गरिरहेका छन् । अमेरिका र बेलायतका कैयौँ सहरमा आयु लम्ब्याउने क्लिनिक सञ्चालनमा आउन थालेका छन् । यस प्रसङ्गमा हारिरी भने उमेर लम्ब्याउन सक्ने ‘उच्च मानव’ र त्यसका लागि खर्चको जोहो गर्न नसक्ने ‘बेकामे वर्ग’ का बिचको खाडलबाट चिन्तित देखिन्छन् ।
अर्को कुरा लामो आयु भनौँ १५० वर्ष– वास्तवमै वाञ्छनीय हो वा होइन भन्ने कुरा पनि विचारणीय छ । यहाँनेर सम्झना हुन्छ, नोबेल पुरस्कारबाट सम्मानित पोर्चुगलका साहित्यकार होजे सारामागोको । उनले आफ्नो उपन्यास ‘डेथ विथ इन्टरप्सन्स्’ मा मृत्युबिनाको समाज कति जटिल र समस्यामूलक हुन सक्छ भन्ने कुरालाई रोचक ढङ्गले प्रस्तुत गरेका छन् । त्यसो त हाम्रा राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि आफ्नो गीतिनाटक ‘अश्वत्थामा’ मा अमरत्वको ‘श्राप’ पाएका अश्वत्थामा (द्रोणाचार्यका छोरा) ले भोग्नु परको दुःखको मार्मिक कल्पना गरेका छन् । मृत्युको सुन्दर उपहार उनलाई प्राप्य छैन । उनले काँचो वायुका रूपमा अभिशप्त जीवन बाँच्नु परेको कथा छ । यस्तो निरुद्देश्य जीवनको रहर कसलाई होला !
अनुसन्धानले के देखाउँछ ?
उमेर र सिर्जनात्मक क्षमताका विषयमा वैज्ञानिक अध्ययन अनुसन्धान पनि भएका छन् । बढ्दो उमेरसँगै सिर्जनात्मकता घट्छ, घट्दैन भन्ने प्रश्नमा पहिलो अनुभवजन्य अनुसन्धानको नतिजा सन् १८३५ मा प्रकाशित भएको थियो । यस अनुसन्धानले र त्यसपछिका अन्य अध्ययनले खास गरी तीन वटा निष्कर्ष निकालेका छन् । पहिलो, उमेर र सिर्जनात्मक क्षमताको सम्बन्ध विधागत रूपमा फरक हुने गर्छ । गणित, विज्ञान र कुनै विषयको अवधारणाको विकास गर्ने वा स्थापित मान्यतालाई चुनौती दिने जस्ता विषयमा युवा उमेर बढी सिर्जनात्मक हुन्छ । यसप्रकारको सिर्जनात्मक क्षमता बढ्दो उमरेसँगै ओरालो लाग्न थाल्छ । यसविपरीत इतिहासकार वा दर्शनशास्त्रीका लागि चाहिने सिर्जनात्मकता पाको उमेरमा प्रखर हुँदै जान्छ र यो हत्तपत्त घट्ता पनि घट्दैन । सामाजिक जीवनका विभिन्न पहलुहरूका बिचको अन्तरसम्बन्ध केलाउने र यसको व्याख्या प्रस्तुत गर्ने क्षमता पनि उमेरसँगैबढ्दै जान्छ ।
दोस्रो, जीवनभरको सिर्जनाको परिमाणका आधारमा पनि सिर्जनशील व्यक्ति फरक फरक हुन्छन् । कोही आफ्ना एकाध सिर्जनामै सीमित हुन्छन् भने कोही अनेकौँ सिर्जनामा लागिरहन सक्ने हुन्छन् । यस्ता व्यक्ति धेरै पाको उमेरमा पनि सिर्जनशील नै रहन सक्छन् । तेस्रो, उमेरलाई दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ– कामकाजी उमेर (करिअर एज) र कालक्रमिक उमेर (क्रोनोलजिकल एज) । सिर्जनात्मक अर्थमा कामकाजी उमेरलाई लम्ब्याउन सकिन्छ र माथि चाल्र्स ह्यान्डीको प्रसङ्गमा भनिए जस्तो दोस्रो वा तेस्रो ‘करिअर’ पछ्याउँदै बढ्दो उमेरलाई थप सिर्जनशील बनाउन सकिन्छ ।
अन्त्यमा,
हाल नेपाललगायत विश्वका धेरै मुलुकमा ‘जेनजी’ अर्थात् तन्नेरी पुस्ताको नेतृत्व स्थापित हुँदै आइरहेको छ । यस पुस्तामाथि समाजले निकै ठुलो आशा राखेको छ । यसप्रति न्याय गर्नका लागि आवश्यक पर्ने सिर्जनात्मक क्षमताको विकास गर्न तन्नेरी पुस्ताले चित्रकार पिकासोले भने झैँ ६० वर्षको अनुभवको पनि उपयोग गर्नुपर्ने हुन्छ । यो कुरा अन्तरपुस्ता सहकार्यबाट मात्र सम्भव छ । के तन्नेरी पुस्ता यसका लागि तयार होला ?