• २१ वैशाख २०८१, शुक्रबार

बहुउपयोगी बाबरी फूल

blog

नेपाल प्राकृतिक स्रोतसाधन र सुन्दरताले भरिपूर्ण छ । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेका प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वन र त्यहाँभित्र पाइने जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको महत्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटी वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको अद्वितीय उपहार मान्न सकिन्छ । 

अपार सम्भावना बोकेका महत्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र विकासको महत्वपूर्ण साधन हुन् । यार्सागुम्बालगायत अन्य महत्वपूर्ण जडीबुटीको बिक्री वितरणबाट दार्चुला, जुम्ला र डोल्पालगायतका जिल्लामा करोडौँ रुपियाँ बर्सेनि भित्रिने गर्दछ । जडीबुटीकै कुरा गर्दा बहुउपयोगी ‘फ्रेन्च बासिल अथवा बाबरी फूल’ लाई बिर्सन हुँदैन । 

फ्रेन्च बासिलको स्थानीय नाम बाबरी फूल हो । यसलाई अङ्ग्रेजीमा  स्विट बासिल, कमन बासिल भनिन्छ तथा यसको वैज्ञानिक नाम ओसिमम बेसिलिकम हो । लेविएटी/लेसिएसी वानस्पतिक परिवारमा पर्ने यो ६० देखि ९० सेन्टिमिटरसम्म उचाइ भएको सोझो झ्वाम्म परेको तथा कडा गन्ध भएको एक वर्षे अकाष्ठीय बिरुवा हो । यसका पात साधारण किसिमका हुन्छन्, जुन डाँठमा एक अर्कामा सोझै विपरीत दिशामा अण्डाकार रहन्छन् । 

यसका पात ३.७५ सेन्टिमिटरदेखि पाँच सेन्टिमिटर लामा, चिल्लो भएको र पात जोड्ने पेट्नो सानो तथा केही भागमा झुस भएको हुन्छ भने फूल ०.७२ देखि १.२५ सेन्टिमिटर लामा हुन्छन् । प्याजी रङका सुगन्धित फूल डाँठमा माथितिर कलिला र छिप्पिएका तलतिर रहेको हुन्छ । यसको बीउ दुई मिलिमिटर लम्बाइ भएका साना साना र कालो रङका हुन्छन् । यसको बीउलाई कात्तिकदेखि फागुनसम्म ठाउँ अनुसार सङ्कलन गर्न सकिन्छ । 

यसका प्रजाति प्राकृतिक रूपमा दुवै गोलार्र्धको तातो हावापानी भएको तथा समुद्र सतहदेखि १८ सय मिटरसम्मको उचाइमा पाइन्छन् । मुख्यतया यसका प्रजाति अफ्रिका, दक्षिण अमेरिका र एसियामा फैलिएका छन् । नेपालमा यो प्राकृतिक रूपमा पाइँदैन तर यसलाई खेती गरिएको हामी देख्न सक्छौँ । यसबाट प्राप्त हुने मुख्य रासायनिक तत्व च्याभिकोल र लिनालुल हुन् । 

यसको खेती नेपाललगायत दक्षिण पश्चिम एसिया तथा भारत, श्रीलङ्कामा गरिन्छ । फ्रेन्च बासिल त्यसमा पाइने रासायिनक तत्व र भौगोलिक क्षेत्र अनुसार चार प्रकारका छन् : युरोपियन स्विट बासिल, रियुनियन बासिल, मिथाइल साइनामेट बासिल, इयुगेनोल बासिल । नेपालमा युरोपियन स्विट बासिल खेती गरिँदै आएको छ ।  

फ्रेन्च बासिलको खेतीका लागि बलौटे, मलिलो र पानी नजम्ने माटो उपयुक्त हुने गर्दछ । चिम्टाइलो माटो र सेपिलो ठाउँमा यसको खेती उपयुक्त मानिँदैन । तातो हावापानी भएको र प्रायः घाम लाग्ने ठाउँमा यसको खेती सप्रिन्छ । नेपालमा यसको खेती तराईदेखि पहाडी भागमा गर्न सकिने भए पनि तराई क्षेत्रमा बढी खेती गरिन्छ । 

बढी पानी पर्ने ठाउँ यसका लागि उपयुक्त मानिँदैन । वर्षातभन्दा अघि बाली लिन सक्ने गरी यसको खेती गर्नुपर्दछ । साउनपछि खेतबारीमा रहेका बिरुवामा पानीका कारणले पात च्यातिने, भुइँमा खस्ने भई बाली उत्पादनमा कमी आउने भएकाले माघ–फागुनदेखि साउन–भदौसम्ममा यो खेती गरी उत्पादन लिइसक्नु पर्छ । यो बिरुवा एक वर्षे बाली भएको हुँदा प्रतिवर्ष खेती गर्नुपर्ने हुन्छ र सोही अनुसार नर्सरी तयार गरी बिरुवा उत्पादन गर्नु पर्दछ । 

आवश्यक मलजल र खनजोत गरी तयार पारिएको जग्गामा चैत महिनाभित्र बिरुवा रोप्नु पर्दछ । बिरुवा रोप्नुभन्दा अगाडि खेती गर्ने जग्गामा डिल बनाई साना साना भागमा विभाजन गर्दा पछि सिँचाइलाई सजिलो हुन्छ । फ्रेन्च बासिल मुख्यतयाः सुक्खा समयमा खेती गरिने प्रजाति हो । त्यसैले यसको सिँचाइमा विशेष ध्यान दिनु पर्दछ । साथै बिरुवा रोपेको एक महिनापछि यसको गोडमेल गर्नु पर्दछ । यसमा कहिलेकाहीँ पात बटार्ने कीरा, पातमा दाग र लाइलाउने जस्ता कीराको प्रकोप तथा रोगले हानि पुर्‍याउन सक्ने हुनाले विभिन्न जैविक विषादीको आवश्यक मात्रामा प्रयोग गरी कीरा तथा रोग नियन्त्रण गर्न सकिन्छ । 

फ्रेन्च बासिलको बिरुवा रोपेको आठदेखि १२ हप्ताभित्र बाली उत्पादन लिन सकिन्छ । जतिबेला बिरुवामा सेता फल एकनासकै फल्न थाल्छन् र फेदका पात साधारण पहेँलो रङमा परिवर्तित हुन थाल्छन्, त्यसै समयलाई बाली लिन योग्य समय मानिन्छ । घाम लागेको दिन धारिलो हँसियाले जमिनभन्दा अलि माथिबाट काटी बाली सङ्कलन गर्न सकिन्छ । यसरी पहिलो बाली लिएपछि दोस्रो बाली २० देखि ३० दिनपछि लिन सकिन्छ । तेस्रो बाली लिँदा वर्षातको कारणले पात झर्ने र बढी पानी भएर बिरुवा मर्ने भएकाले तेस्रो बालीमा उत्पादन कम हुने गर्दछ । 

यसको पूरै बिरुवा वा फूलबाट मात्रै पनि तेल उत्पादन गर्न सकिन्छ । पूरै बिरुवा राखेर प्रशोधन गरी तेल निकाल्नेभन्दा फूलको माथिको भाग मात्र सङ्कलन गरी प्रशोधन गरेमा उच्च गुणस्तरको तेल प्राप्त गर्न सकिन्छ । साथै प्रशोधन गरेको तेललाई फिल्टर पेपर वा सफा सेतो मलमलको कपडामा कपास राखी छानेर यसमा रहेका बाह्य वस्तु हटाई स्टिल वा आल्मुनियमको भाँडामा घाम नपर्ने, चिसो तथा ओभानो ठाउँमा भण्डारण गर्नु पर्दछ । 

फ्रेन्च बासिल खाद्य र औषधीय दुवै रूपमा प्रयोग हुने गर्दछ । यसको जरा, काण्ड, पात, बीउ आदि सम्पूर्ण भाग उपयोगी हुन्छ । विभिन्न देशमा यसको तेल खाद्यवस्तु, चकलेट, चुइगम, सौन्दर्य प्रसाधनका वस्तु, साबुन, अत्तर, क्रिम, दन्तमञ्जन आदि बनाउनमा प्रयोग हुने गर्दछ । धेरै पकाइएका खाद्य पदार्थ, मासु, अचार, पेय पदार्थलाई सुगन्धित बनाउनसमेत यसको तेल प्रयोग हुने गरेको छ । यसलाई औषधीय रूपमा समेत प्रयोग गर्छन् । टाउको दुखेको, बाथरोग, सास गनाउने आदिको उपचारमा यसलाई प्रयोग गरिन्छ । 

पातबाट घाँटी, कान र छालासम्बन्धी रोगमा प्रयोग हुने औषधी बनाइन्छ भने महमा मिसाएर यसको पातको रस खानाले असाध्यै बिग्रिएको रुघा पनि निको हुन्छ । यसको बीउलाई पिसाब पोल्ने, कब्जियत, झाडापखाला, आउँ तथा पायल्सको उपचारमा प्रयोग गरिन्छ । 

निष्कर्षमा भन्नु पर्दा फ्रेन्च बासिल विभिन्न आर्युवेदिक औषधी, तेल, खाद्यवस्तु, चकलेट, सौन्दर्य प्रसाधनका सामान, साबुन, अत्तर, क्रिम बनाउन प्रयोग हुने भएकाले यसको माग विश्वबजारमा बढ्दो छ । नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटको आधारमा हाम्रो देशमा फ्रेन्च बासिल खेतीको प्रचुर सम्भावना रहेको छ । 

– लेखकले गुणस्तर जीवन विषयमा विद्यावारिधि गरेका छन् ।  

Author

डा. माधव अधिकारी