• १७ जेठ २०८१, बिहिबार

भएन हिउँदे वर्षा, हिउँद सुख्खा हुन सक्ने

blog

काठमाडौं, पुस १८ गते । यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी पानी पर्ने आँकलन गरिए पनि अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँयाममा सरदरभन्दा बढी वर्षा हुने जनाएको थियो । तर अहिलेसम्म पानी नपर्दा यस वर्ष हिउँदमा पूर्वानुमान गरिएभन्दा विपरित हिउँद सुख्खा हुने हो कि ? भन्ने आँकलन गरिएको छ ।

समयमा वर्षा नहुँदा हिउँदयाममा लगाइले बालीनाली पनि सप्रन गाह्रो हुने भएकाले किसान चिन्तित छन् ।

पश्चिमी वायुका कारण हिउँदयाममा वर्षा हुन्छ । तर यसवर्ष पश्चिमी वायुको प्रभाव कम रहेकाले पानी नपरेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ । विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार यस वर्ष पश्चिमी वायुको प्रभाव निकै कम रहेकाले अहिलेसम्म हिउँदे वर्षा हुन नसकेको हो । केही दिन अघि देशको पश्चिमी भागमा आंशिक प्रभाव रहे पनि यो त्यति सशक्त हुन नसकी लुप्त नै भयो ।

उहाँले भन्नुभयो, “अहिले पश्चिमी वायुको प्रभाव निकै कम छ । वर्षा गराउने प्रणाली नेपाल नभित्रिएकाले पुस १५ कट्दा पनि हिउँद वर्षा हुन सकेको छैन । केही दिन अघि पश्चिम क्षेत्रमा आंशिक प्रभाव थियो । तर त्यो हरायो । ”

गतवर्ष पनि यो समयमा हिउँदे वर्षा भने भएको थिएन । नेपालमा हिउँदमा वर्षभरि हुने वर्षाको करिब चार प्रतिशत मात्र वर्षा हुने आँकलन गरिन्छ ।

बाँकी झण्डै ८० प्रतिशत वर्षा मनसुनमा, १२ प्रतिशत प्रि मनसुनमा र चार प्रतिशत पोष्ट मनसुनमा पानी पर्ने गरेको तथ्याङ्क छ ।

मौसमविद् पुडासैनीका अनुसार गतवर्ष पनि यो समयमा हिउँदे वर्षा भएको थिएन । उहाँले भन्नुभयो, “पछिल्ला केही वर्षलाई हेर्ने हो भने हिउँदे वर्षा कम भएको देखिन्छ । यसको आँकलन नै गर्न सकिँदैन । गतवर्ष पनि नोभेम्बर र डिसेम्बर महिनामा वर्षा भएको थिएन ।”

वि.स २०६२ सालमा सबैभन्दा कम ७.१ मिलिमिटर वर्षा मापन भएको थियो । सरदर ६० मिलिमिटर वर्षालाई हिउँदमा सरदर वर्षाको रुपमा लिइन्छ ।

सामान्यता फागुन १६ गतेसम्म हिउँदयाम मानिने भएकाले यो बिचमा पश्चिमी वायुको प्रभाव बढी भएर आउन सक्ने आँकलन भने गर्न सकिने पुडासैनी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “फागुन १६ गतेसम्मलाई हिउँद यामनै मानिन्छ । त्यसैले यो समयसम्म पश्चिमी वायुको प्रभाग बढी भएर हिउँदै वर्षा राम्रोसँग हुन पसन सक्छ । तर अहिले त्यस्तो प्रणाली विकास भने भएको छैन ।”

जलवायु परिवर्तका कारण वर्षायाममा हुने मनसुनी वर्षा ढिलो बाहिरिने र हिउँदे वर्षाको पनि टुङ्गो नहुने उहाँ बताउनुहुन्छ ।

हिउँदे वर्षा ढिलो हुँदा बालीनालीलाई कस्तो असर पर्छ ?
नेपालको कृषि प्रणाली परम्परागत रुपमा आधारित छ । किसानहरु वर्षायाम र हिउँदयाममा लगाउने खेतीपातीको बारेमा पूर्व जानकार हुन्छन् । तर वर्षाको आधारमा भने त्यति सरोकार राख्दैनन् ।

यतिखेर नेपालका अधिकांश स्थानमा हुने गहुँखेतीका लागि हिउँदे वर्षा महत्त्वपूर्ण हुन्छ ।तर समयमा पानी नपर्दा किसानहरु उत्पादन घट्ने हो कि भन्ने चिन्तामा छन् ।

कोसेबालीका हकमा भने फूल फुल्ने बेलामा वर्षा भएमा कतिपय बालीनालीलाई असर गर्न सक्ने बालीविज्ञ बताउनुहुन्छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।