• २० वैशाख २०८१, बिहिबार

मेची राजमार्गमा यातायात ठप्प

blog

यातायात बन्दका कारण फुङ्लिङस्थित बसपार्कमा रोकिएका सवारी साधन । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १८ गते । प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा यातायात सेवा ठप्प भएको छ । ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लामा रहेको मेची राजमार्गमा बुधवार बिहानैदेखि यातायात ठप्प भएको हो ।

संयुक्त सङ्घर्ष समितिले पक्राउ परेका पहिचानवादी नेता आन्जेस राईको रिहाइको माग राखेर मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको हो । समितिले आह्वान गरेको बन्दका कारण मेची राजमार्गमा सञ्चालन हुने सबै किसिमका सवारी साधन ताप्लेजुङबाट नछुटेका यातायात व्यवसायीले जनाएका छन् । 

मेची राजमार्गमा यातायात बन्द आह्वानले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी साधन ठप्प हुँदा यात्रु मारमा परेका छन् । बुधवारका लागि टिकट बुकिङ गरेका यात्रुले गन्तव्यमा जान नपाई सम्बन्धित जिल्लाहरूमा रोकिएका छन् । 

बिहीबारका लागि पनि यातायात सञ्चालन हुने नहुनेमा निश्चित नरहेको सदरमुकाम फुङ्लिङस्थित पाथीभरा यातायात प्रालिका काउन्टर इन्चार्ज शरण लिम्बूले जानकारी दिनुभयो । उहाँले मेची राजमार्ग बाहेकका स्थानीय तथा अन्य सडकमा भने सवारी साधन सञ्चालनमा रहेको बताउनुभयो । संयुक्त सङ्घर्ष समितिले मङ्गलबार नै विज्ञप्ति प्रकाशित गरी बुधवार र बिहीबार दुई दिन मेची राजमार्गमा यातायात बन्द आह्वान गरेको छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।