• ३० वैशाख २०८२, मङ्गलबार

हराएकै हो – प्याज मिसन

blog

कृषिप्रधान मुलुक हुँदाहुँदै पनि दैनिक उपभोग्य वस्तुमा समेत परनिर्भरता दिनानुदिन बढ्दो छ । खाद्यान्न होस् वा तरकारी, आयातमा थोरै मात्र गडबडी हुनासाथै चुलोमा असर पुग्ने विडम्बना छ । कहिले चिनीको अभाव हुन्छ त कहिले चामलको, कहिले मैदाको अभाव हुन्छ त कहिले तेलको । यस किसिमको अभावमा देशभित्रै पर्याप्त उत्पादन नहुनुसँगै थप कारण भने सीमित व्यापारीको एकाधिकारपूर्ण कालोबजारीलाई समेत नकार्न सकिने अवस्था छैन । यस्तै अभावको पछिल्लो उदाहरण प्याज बनेको छ । वर्षका कतिपय महिना प्याज काट्दा होइन, किन्दा नै आँसु आउने गरेको छ । उपभोक्ता हैरान हुँदै छन् ।

दक्षिणी छिमेकी मुलुकले प्याज निर्यातमा कडाइलगायतका कारण केही समयअघिदेखि बजारमा प्याजको मूल्य आकासिएको थियो । प्याजको अभाव होइन, बजारमा पहिलेकै जसरी प्याज पाइने तर मूल्य भने अचाक्ली वृद्धि गरिएको पाइन्छ । यद्यपि यो पटक मात्र यस्तो भएको भने होइन । अघिल्लो वर्ष पनि यही स्थिति उत्पन्न भएको थियो । केही व्यापारीले उत्तरी छिमेकी मुलुकबाट प्याज आयात गर्न थालेपछि आकासिएको मूल्य स्वतः घटेको थियो । यस पटक पनि त्यस्तै भएको छ । व्यापारीले केही टन प्याज चीनबाट आयात गर्नासाथै एकाएक प्याजको मूल्य घटेर पहिलेकै अवस्थामा आएको उपभोक्ताको भनाइ छ । बाहिरै भर परेपछि यस्ता अनेक प्रवृत्ति उपभोक्ताले सहनु पर्छ ।

उपत्यकाको बजारमा सामान्य अवस्थामा नल्याइने गरेको चिनियाँ प्याज भित्रिन थालेसँगै भारतबाट ल्याइएको प्याजसमेत सस्तो भएको हो । मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुगेको भारतीय प्याज अहिले आधा मूल्यमा झरेको छ । राजधानीस्थित कालीमाटी फलफूल तथा तरकारी बजार समितिका पदाधिकारीहरूका अनुसार मङ्सिरको अन्तिम साता भारत सरकारले नेपाललगायतका मुलुकमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । यद्यपि भारतीय प्याज आउन भने रोकिएको थिएन । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले गत मङ्सिरदेखि डिसेम्बर अन्तिमसम्म प्याज निर्यातमा लगाएको करसहितको कसिलो व्यवस्था परिमार्जन गरी आगामी २०२४ मार्च अन्तिमसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गर्नुलाई व्यापारीले मूल्य वृद्धिको प्रमुख कारक मानेका हुन् । समितिका अनुसार प्रतिबन्ध लगाइएको भनिए पनि दैनिक ८० मेट्रिक टनको हाराहारीमा भारतीय प्याज उपत्यकामा भित्रिरहेकै थियो । केही दिनयता चिनियाँ प्याज दैनिक छ/सात मेट्रिक टन आउन थालेपछि बजारभाउ एकाएक घट्नुलाई सम्बन्धित निकायले उपभोक्ताको मनोमानी नियन्त्रण गर्न नसक्नुको परिणाम बताएका छन् ।

त्यसो त प्याज बिहान बेलुकाको छाक टार्नका लागि नभइनहुने अत्यावश्यक वस्तु होइन । औषधीय गुण भएको शीतलता प्रदान गर्ने प्याज प्रायः सबै चिजमा मिसाएर उपभोग गरिन्छ । तराई÷मधेशमा त प्याजलाई अपरिहार्य नै मानिन्छ । अन्यत्र भने भए पनि ठिकै, नभए पनि ठिकै भने जस्तै हो । नेपालका प्रायः सबै जिल्लामा प्याज खेती हुने गरेको कृषिविज्ञहरूको भनाइ छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा करिब २० हजार हेक्टरमा प्याजखेती लगाइने गरिएको छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार नेपालमा लगाइने प्याजबाट करिब साढे तीन लाख मेट्रिक टन उत्पादन हुन्छ । नेपालको तरकारी बालीमा काउली र बन्दाकोबीपछि तेस्रोमा प्याज पर्दछ । गाउँघरमा स्थानीय उत्पादनले धान्ने भए पनि सहरी क्षेत्रको बढ्दो माग धान्न भने आयातमै भर पर्नुपर्ने अवस्था देखिएको छ । 

प्याजको उत्पादन वृद्धिका लागि किसानलाई आवश्यक ज्ञान, सिप र सिँचाइको सहज व्यवस्था गर्नेतर्फ सरकारी पहल नपुगेको अगुवा किसानको भनाइलाई नकार्न सकिन्न । प्याज खेतीका लागि बिउको अभाव छ । भारतले तीन वर्ष अघिदेखि प्याजको बिउ निर्यातमा समेत रोक लगाएको बाली विकास केन्द्रको भनाइ छ । नेपालमा पश्चिम रुकुमस्थित तरकारी बाली विकास केन्द्रले मात्रै प्याजको बिउ उत्पादन गर्दै आएको तथ्य छ । उक्त केन्द्रले वार्षिक तीन सय किलो बिउ उत्पादन गर्छ । यो परिमाणले किसानको माग पूरा गर्न नसक्ने र भारतबाट आयात गर्न पनि नसकिने प्रतिबन्ध भएकाले खेती विस्तारमा समस्या उत्पन्न भएको कृषिविज्ञहरूको भनाइप्रति सरकारी चासो वृद्धि हुन आवश्यक छ । स्वदेशमै प्याजको उत्पादन बढाउँदै स्वनिर्भर हुन प्याज मिसन कार्यक्रम आर्थिक वर्ष २०६४/६५ मा लिइएको भए पनि यो नारामा मात्र सीमित हुँदो छ । झापा, सिरहा, सप्तरी, धनुषालगायतका जिल्ला समेट्ने प्याज मिसन कता गयो भन्ने प्रश्न गर्नु जरुरी भएको छ ।