अमृतप्रसाद पौडेल
म्याग्दी, पुस १६ गते । स्याउ टिपेर बिक्री गरेपछि दाना टिपेको र पात झरेर उजाड बनेको स्याउको बोट तथा बगैँचा पुस र माघ महिनामा व्यवस्थापन तथा काँटछाँट गर्ने गरिन्छ । अहिले मुस्ताङका किसान स्याउका बोट व्यवस्थापनमा लागेका छन् ।
अन्य खेतीको तुलनामा कम मेहनत गर्नुपर्ने मानिने स्याउको बोटलाई हाँगाबिँगा काँटछाँट गर्ने गरिन्छ । शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त प्रमुख पद्मनाथ आत्रेयले स्याउको उत्पादन, सङ्कलन तथा बजारीकरणपछि हिउँदमा स्याउ बगैँचा व्यवस्थापन सुरु हुने जानकारी दिनुभयो । उहाँ सिँचाइका लागि पनि हिउँदको समय अति नै महत्वपूर्ण हुने बताउनुहुन्छ ।
मुस्ताङका किसानले स्याउबाटै बर्सेनि ५० करोड रुपियाँभन्दा धेरै जिल्लामा भित्र्याउने गरेका छन् । मार्फाका अगुवा कृषक दीपक लालचन बगैँचा व्यवस्थापन गर्न सके उत्पादन र त्यसबाट आम्दानी पनि राम्रै हुने बताउनुहुन्छ । जिल्लाको पाँचवटै स्थानीय तहमा अहिले किसान चिसो सहँदै स्याउ बगैँचा व्यवस्थापन कार्यमा जुटेका छन् । उहाँले उपल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण धेरैजसो स्थानीय बेँसी झरिसकेको जानकारी दिनुभयो ।
स्याउ बगैँचामा गोडमेल, सिँचाइ, मलजल गर्ने, रोग किराको प्रकोप नियन्त्रणका लागि विषादी छर्ने र स्याउ बोटमा फैलिएका अनावश्यक हाँगाबिँगाको काँटछाँट गर्ने तालिम लिनेलगायतका कृषि कर्म गर्न भ्याइनभ्याई रहेको आत्रेयको भनाइ छ ।
घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले स्याउ बगैँचा व्यवस्थापनसम्बन्धी तालिम र फिल्डमै पुगेर किसानलाई स्याउ खेती गर्ने तरिका सिकाउने गरेको जानकारी दिनुभयो । स्याउ बगैँचा व्यवस्थापनका लागि विषादी छर्ने तरिका र स्याउ काँटछाँट गर्ने तरिका सिकाउने गरिएको उहाँले जानकारी दिनुभयो । बर्सेनि मुस्ताङका किसानलाई कृषि ज्ञान केन्द्र मुस्ताङ, शीतोष्ण बागवानी विकास केन्द्र मार्फा र सम्बन्धित स्थानीय तहले प्राविधिकको व्यवस्था गरी तालिम गर्ने गर्छन् ।
कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले स्याउ कटिङ गर्दा हावा र घाम स्याउको सबै हाँगा र पातसम्म सर्कुलर हुन्छ, विभिन्न स्याउमा लाग्ने रोग सङ्क्रमणलाई प्रतिरोध गर्छ त्यसैले यसो गर्नुपर्ने बताउनुभयो ।
मुस्ताङमा पछिल्लो समय एक हजार ४९५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ । कृषि ज्ञान केन्द्र मुस्ताङले ५८५ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिने गरेको जनाएको छ । मुस्ताङमा उन्नत जातका रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस स्याउ उत्पादन हुन्छ । यस्तै उच्च घनत्व प्रविधिमा आधारित (हाइब्रिड) जातका गाला, फुजी, किङरोट, जोनाप्रिन्स, गोल्डेन डेलिसियस र रेड डेलिसियस स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र मुस्ताङको भनाइ छ ।
आर्थिक वर्ष २०८०/८१ मा मुस्ताङमा ५८५ हेक्टरमा लगाइएको स्याउबाट चार हजार ९७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष स्याउको फूल फुल्ने समय चैत/वैशाख महिनामा मौसम फेरबदलका कारण स्याउ बोटमा परागसेचन (पोलिनेसन) हुन नपाएपछि स्याउ कम फलेको शीतोष्ण बागवानी विकास केन्द्रका निमित्त प्रमुख आत्रेयको भनाइ छ ।
पछिल्लो समय जोमसोमभन्दा तलको क्षेत्रमै माइनस चार दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएको छ । शीतोष्ण हावापानीमा हुने फलफूलका विशेष गरी हाइचिलिङ स्याउका लागि एक हजार घण्टाभन्दा धेरै सात डिग्रीभन्दा कम तापक्रम भएको समय चाहिन्छ ।