• २१ वैशाख २०८१, शुक्रबार

कुषाणकालीन इनारको उत्खनन

blog

निपनियास्थित दानव नदीको किनारमा रहेको कुषाणकालीन इनार ।

नारद कोहार

तौलिहवा, पुस १५ गते । वर्षौंदेखि बाढीसँगै बगिरहेको निपनियाको पुरातात्त्विक महत्त्वको सम्पदालाई आकस्मिक उद्धार उत्खनन (रेस्क्यु एस्काभेसन) गर्न थालिएको छ । लुम्बिनी विकास कोषले पुरातत्त्व विभागसँगको सहकार्यमा कुषाणकालीन माटोद्वारा निर्मित इनारको आकस्मिक उद्धार उत्खनन गर्न थालेको हो । 

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँनजिकै रहेका पुरातात्त्विक भग्नावशेष बाढीको भेलसँगै दानव नदीमा विलय हुँदै गएको छ । लुम्बिनी विकास कोषका पुरातत्त्व शाखाका प्रमुख हिमाल उप्रेतीका अनुसार प्रत्येक वर्ष दानव नदीमा आउने बाढीले बुद्धकालीन इनारहरू धेरै बगिसकेको र त्यसमध्येको एउटालाई उद्धार उत्खनन गरेर संरक्षण गर्न थालिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रत्येक वर्ष बाढीको भेलसँगै धेरै इनार दानव नदीमा विलय भएका छन् । धेरै इनार बगिसके, त्यसमध्येको बचेको बौद्धकालीन एउटा इनार आउने पुस्तालाई जानकारी गराउने उद्देश्यले संरक्षणका लागि उद्धार उत्खनन गरिएको हो ।” उद्धार उत्खननपछि कुषाणकालीन इनारलाई लुम्बिनीको सङ्ग्रहालयमा राखिने उहाँले बताउनुभयो ।

उत्खननका क्रममा एनबिपी, रातो माटाका भाँडाका टुक्रा प्रशस्त मात्रामा भेटिएको उहाँले बताउनुभयो । उहाँले अहिले अनुसन्धान अन्वेषणका लागि भन्दा पनि नदी किनारमा रहेको इनार संरक्षण गर्ने गरी छोटो अवधिको उद्धार उत्खनन गरिएको बताउनुभयो ।

केही वर्षयता दानव नदीले नगरपालिकाको सो क्षेत्रमा अनियन्त्रित कटान सुरु गरेपछि जमिनमुनि लुकेर रहेका प्राचीन अवशेष एकपछि अर्को देखिँदै दानव नदीमा विलय हुँदै गएका छन् ।

सन् १९६४ मा भारतीय पुरातत्त्वशास्त्री एसबी देवले यस क्षेत्रको अध्ययन गर्नुभएको थियो । त्यसबेला उहाँले यहाँ पाइएका माटोका संरचना भारतको हस्तिनापुरको समकालीन मानिन्छ भन्नुभएको थियो । उत्खननका क्रममा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएको घैँटो, हातबाट बनाइएको भूदेवीको मुखौटो, साँढे, हात्ती, थाल, आरीलगायतका सामग्री पाइएका थिए ।