• १२ मंसिर २०८१, बुधबार

खेलकुद निकायको भुमिकाबारे समीक्षा हुन आवश्यक छ : मन्त्री लिम्बू

blog

काठमाडौँ, पुस १५ गते । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली खेलकुदका सरोकारवाला निकायको भुमिकाबारे समीक्षा गर्न आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल ओलम्पिक कमिटि (एनओसी) को शनिबार १५औं साधारणसभाको उद्घाटन गर्नुहुँदै मन्त्री लिम्बूले खेलाडीको अपेक्षाअनुरूप खेलकुदका निकाय एनओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को काम कारबाही र भुमिका विषयलाई लिएर समीक्षा गर्न आवश्यक रहेको औंल्याउनु भएको हो । खेलाडीका भावनाअनुरूपमा गर्न सक्यौँ वा सकेनौँ भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको मन्त्री लिम्बूको धारणा थियो ।

मन्त्रीले लिम्बूले खेलकुदका जिम्मेवारी निकाय एउटै लक्ष्यमा एक भएर काम काम गर्ने हो भने नेपाली खेलकुद विकासको नतिजा आगामी पाँच वर्षभित्र देखिने बताउनुभयो । त्यसैले सराकोरवाला निकाय मिल्नुको विकल्प नभएको आवश्यकता औंल्याउनु भयो । खेलकुद क्षेत्रको विकासका लागि सबै निकायको साझा धारणा आउनुपर्ने पनि मन्त्री लिम्बूले बताउनुभयो ।

मन्त्री लिम्बूले सरकार एक्लैले मात्र खेलकुद क्षेत्रको विकास गर्न सम्भव नभएको पनि जिकिर गर्नुभयो । उहाँले निजी क्षेत्र, सरोकारवाला र राज्य एक भएर काम गर्ने हो भने खेलकुद क्षेत्रले धेरै फड्को मार्ने बताउनु भयो । लगानी गर्ने व्यक्ति र संस्थालाई पनि प्रोत्साहन गर्न उत्तिकै आवश्यकता रहेको मन्त्री लिम्बूले बताउनुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा ओलम्पिकको इतिहास लामो भएपनि अनुभव त्यति लामो हुन नसकेको स्वीकार गर्नुभयो । यसबीच एनओसीले उतारचढाव सामना गर्नु परेकाले पनि त्यति धेरै गतिविधिहरू नभएको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठको भनाई छ ।

ओलम्पिकमा सहभागिता मात्र होइन पदकको सम्भावना पनि ल्याउने वातावण बनाउन आफूहरू प्रतिवद्ध रहेको ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले बताउनु भयो । राज्य, खेलकुद संघ, मन्त्रालय र ओलम्पिक कमिटी एक भएर काम गर्दा मात्र नेपाली खेलकुदलाई परिणाममूखी बनाउन सक्ने अध्यक्ष श्रेष्ठको विश्वास छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको संस्थागत विकासको इतिहास लामो रहेको उल्लेख गर्दै उद्देश्यअनुरूप विकास हुन नसक्दा एकपटक सबैले समीक्षा गर्न आवश्यक रहेको औंल्याउनुभयो ।

घिसिङले पनि सामूहिक प्रयास गर्न एकै पटक पाइला बढाउन आग्रह गर्नुभयो । काम गर्ने तरिका बारे प्रशिक्षकसँगै हरेक खेलकर्मीले पनि आफूलाई समीक्षा गर्न उहाँको आग्रह छ । तब मात्र उपलब्धि सम्भव रहेको राखेप सदस्यसचिव घिसिङले बताउनुभयो ।