• ८ असार २०८१, शनिबार

भारतमा पदक जितेर फर्किएका खेलाडीलाई सम्मान

blog

स्वर्ण र रजत विजेता लगायत सम्मानित भएका खेलाडी । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, पुस १४ गते । भारतको हैदराबादमा भएको १०औँ वर्ल्ड स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेर फर्किनु भएका नेपालगन्जका डा. प्रतीक श्रेष्ठ र रजत पदक विजेता सन्तोषकाजी शाक्यलाई यहाँ सम्मान गरिएको छ । 

सो प्रतियोगितामा स्वर्ण र रजत पदक जित्ने दुबैजना खेलाडीलाई नेपालगन्जमा बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ सङ्घ र लाइफलाइन अस्पतालले सम्मान गरेको छ । दुबैजना खेलाडीलाई नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट र लाइफलाइन अस्पतालका प्रमुख डा. पारस श्रेष्ठ र सामाजिक अगुवा अशोक श्रेष्ठले सम्मान गर्नुभयो । 

सो अवसरमा बोल्दै मेयर विष्टले स्ट्रेन्थलिफ्टिङको विश्व च्याम्पियनसिपमा सवर्ण र रजत पदक जितेर खेलाडीले नेपालगन्ज र नेपालको नाम विश्वभर फैलाएको जनाउँदै यसले अन्य खेलाडीलाई पनि उत्साहित बनाएको बताउनुभयो । १८ देखि २२ डिसेम्बर, २०२३ सम्म भारतको हैदराबादमा भएको प्रतियोगितामा नेपालगन्जका डा. श्रेष्ठले ९५ किलो तौल पुरुष सिनियरतर्फको प्रतिस्पर्धामा स्वर्ण पदक जित्नु भएको थियो । 

त्यसैगरी, नेपालगन्जकै सन्तोषकाजी शाक्यले ७६ किलो तौल पुरुष मास्टर वानतर्फको प्रतिस्पर्धामा रजत पदक जित्नु भएको थियो । दुवै खेलाडीले नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनु भएको थियो । प्रतियोगितामा नेपालका ४५ जना खेलाडीले सहभागिता जनाएको जनाउँदै स्वर्ण पदक विजेता डा. श्रेष्ठले उनीहरूले १६ स्वर्ण, १४ रजत र चार कांस्य पदक जितेको बताउनुभयो । 

उहाँले नेपालगन्जबाट पाँच जना खेलाडी सहभागी भएकोमा दुई जना खेलाडीले पदक जितेको जनाउनुभयो । यसअघि पदक जितेर फर्किएको बेला जमुनाह नाकामा नेपालगन्जका खेलाडीको बाजागाजासहितको टोलीले भव्य स्वागत गरेको थियो ।