• ८ असार २०८१, शनिबार

प्रधानमन्त्री कप : एपीएफ क्वालिफायरमा

blog

काठमाडौँ, पुस १४ गते । विभागीय टोली एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ । एपीएफ लिग चरणमा अपराजित रहँदै क्वालिफायरमा प्रवेश गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ४७ रनले हरायो । यससँगै एपीएफले लगातार सातौँ जित निकालेको छ । जितका लागि एक सय २७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो । 

बागमतीका लागि सोनी पाख्रिनले २० रन बनाउनुभयो । यशु पाण्डेले १७ र संस्कृति फुयाँलले १० रन जोड्नुभयो । बलिङमा एपीएफका लागि सुमन विष्ट दुई विकेट लिनुभयो। सोनु खड्का, करुणा भण्डारी, नेरी थापा र सीता रानामगरले एक एक विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय २६ रन बनाएको थियो । एपीएफका लागि सीता रानामगरले सर्वाधिक ४४ रन बनाउनुभयो । इन्दु बर्माले २८, रोमा थापा १९ र ज्योति पाण्डे १३ रन जोड्नुभयो । बलिङमा बागमतीको लागि संस्कृति फुयाँल, मनीषा उपाध्याय र सबिका कुमारी यादवले एक एक विकेट लिनुभयो । 

शनिबार नै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २४ रनले हरायो । जितका लागि दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।

जितसँगै सुदूरपश्चिम प्रदेशले क्वालिफायर खेल्ने सम्भावना कायम राखेको छ । सुदूरपश्चिम सात खेलमा १० अङ्क जोड्दै तेस्रो स्थानमा छ । एक खेल कम खेलेको कोशी पनि समान १० अङ्कसहित दोस्रो स्थानमा छ ।  

यस्तै मूलपानी क्रिकेट मैदानमा कप्तान रुविना क्षेत्रीको सानदार अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई सात विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको छ । जितको लागि ७० रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोशीले १०.२ ओभरमा तीस्राे विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

यस्तै त्रिवि मैदानमा भएको अर्को  खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ७८ रनले हरायो । जितका लागि एक सय रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २१ रनमा अल आउट भएको थियो ।