• १० मंसिर २०८१, सोमबार

फड्को मार्दै नेपाली चलचित्र

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले लिएका सुशासन, सामाजिक न्याय, समृद्धि, समाजवाद उन्मुख लोकतन्त्र र सङ्घीयताको व्यावहारिक कार्यान्वयन भएको देखिन्छ । सरकार गठन भएको यो एक वर्षको अवधिमा विभिन्न क्षेत्रमा जस्तै सांस्कृतिक क्षेत्रको चलचित्रको विकासमा सरकारले उल्लेखनीय कार्य गरेको छ । 

नेपाली चलचित्रको इतिहासमा करिब ६० वर्षपछि व्यावसायिक रूपमा अगाडि बढ्ने कामको सुरुवात भएको छ । बक्स अफिस र छायाङ्कन स्टुडियोलाई समृद्धशाली बनाएर सोको सुरुवात भएको हो । चलचित्र, टेलिचलचित्र, म्युजिक भिडियो, विज्ञापन छायाङ्कन गर्दा बेहोरिएको समस्या समाधान गर्न चलचित्र विकास बोर्डले काभ्रेको बनेपामा आधुनिक प्रविधियुक्त सुविधासम्पन्न छायाङ्कन स्टुडियो निर्माण कार्य अगाडि बढाएको छ ।

सरकारले गरेको अर्को सकारात्मक सुरुवात हो– छात्रवृत्ति । केही वर्षअघि पढ्न नसक्ने व्यक्तिहरू कलाकारितातिर लाग्ने गर्दथे । कलाकार बन्नका लागि चलचित्र क्षेत्रमा अध्ययनको कुनै आवश्यकताबोध गरिन्नथ्यो । अध्ययन गरेका र गर्न खोज्नेहरूको पनि सोही प्रकारले बेवास्ता गरिन्थ्यो तर अहिले समय र आवश्यकता फेरिएको अवस्था छ ।

हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रसम्बन्धी विषयको अध्ययन, अनुसन्धान एवं वृत्ति विकासका लागि छात्रवृत्ति प्रदान तथा प्रोत्साहन कार्यक्रम ल्याएको छ । चलचित्र अध्ययन गर्न चाहनेहरूलाई निश्चित मापदण्डभित्र रहेर बोर्डले चलचित्रसम्बन्धी विषयमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । 

यसबाट चलचित्र अध्ययन गर्न चाहने तर आर्थिक स्थिति कमजोर भएकाहरूलाई राहत र प्रोत्साहन मिलेको छ । यस कार्यक्रम अनुरूप स्नातक तहमा चलचित्रसम्बन्धी विषय अध्ययनका लागि १० जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको छ । यस्तै दुई जना शोधार्थीलाई विद्यावारिधि गर्न शोधवृत्ति उपलब्ध गराइएको छ । बालबालिकामा चलचित्र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले दाङको घोराहीमा बाल चलचित्र महोत्सव सम्पन्न भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एवं व्यावसायिक रूपमा अगाडि बढ्न नसक्नुमा यस क्षेत्रसम्बन्धी अध्ययनको कमी हो । अन्य विषय जस्तै चलचित्र पनि एउटा महìवपूर्ण विषय हो । अन्य माध्यमबाट जनमानसमा पु¥याउन धेरै समय लाग्ने कुरा चलचित्रको माध्यमबाटै छिनभरमा पु-याउन सकिन्छ । सामाजिक रूपमा जनतालाई चेतनशील र सचेत पार्न चलचित्रको अहम भूमिका हुन्छ ।

चलचित्रको माध्यमबाट देशभक्ति र राष्ट्रियताको भावना बढाउन सकिन्छ भने कुनै बेला कतिपय देशमा राज्य व्यवस्था परिवर्तन गर्न सक्ने अचुक हतियारका रूपमा स्थापित भएका छन् चलचित्र । विसं २०५८ मा स्थापना भएको ‘नेसनल स्कुल अफ फिल्म एन्ड टेलिभिजन’ बाट सुरु भएको चलचित्र अध्यापन संस्था अहिले अस्कर कलेज, आरबी मुभिजलगायतका फिल्म मेकिङ तथा अभिनय प्रशिक्षण संस्थाहरू खुलेका छन् । 

अर्कोतर्फ चलचित्र विकास बोर्डले सिफारिस गरेका स्वदेशी या विदेशी चलचित्रलाई पनि नेपालको चलचित्र जाँच समितिद्वारा देश, संस्कृति, जातीयता, लैङ्गिक, राष्ट्रियता, भौगोलिक अखण्डतामा आँच आउनेबाहेकका सबै दृश्य र संवादहरूलाई स्थान दिइएको छ । त्यस्ता चलचित्रका दृश्य र संवादहरूलाई सम्पादन गरी प्रदर्शन गरिएका छन् । 

नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता जस्ता कुरामा आँच पुग्न सक्ने खालका स्वदेशी तथा विदेशी चलचित्रलाई पूर्णतया निषेध गरिएको छ । जस्तै– हालै प्रदर्शन हुन लागेको एक विदेशी चलचित्र आदिपुरुष त्यसको ज्वलन्त उदाहरण हो । चलचित्र सेन्सर बोर्डले विवादित संवादलाई सच्याएर मात्र नेपालमा प्रदर्शन अनुमति मिलेको थियो । उत्कृष्ट चलचित्रकर्मी, उत्कृष्ट चलचित्र तथा उत्कृष्ट कलाकारलाई राष्ट्रपतिद्वारा सम्मान तथा नगद पुरस्कारको व्यवस्था गर्ने गरिएको छ । यसबाट पनि चलचित्रकर्मीलाई केही मात्रामा हौसला मिलेको छ ।

नेपाली चलचित्रको इतिहास दक्षिण एसियामै कान्छो मानिन्छ । चलचित्र निर्माण सन् १८८० को दशकमा क्यामेराको आविष्कार भएपछि सुरु भएको हो । सन् १८८५ मा फ्रान्समा पहिलो चलचित्र निर्माण भयो । त्यसपछि भारतीय सिनेमा बनेको ५० वर्षपछि नेपालमा चलचित्रहरू बन्न थालेको हो । विसं २००८ मा भारतमा नेपाली भाषामा ‘सत्य हरिश्चन्द्र’ नामक चलचित्र निर्माण भएको थियो । नेपालमै छायाङ्कन गरिएको पहिलो नेपाली चलचित्र आमा हो र यो विसं २०२१ असोजमा प्रदर्शन भएको हो । हालसम्म बलिउड चलचित्रको इतिहासले करिब ११० वर्ष पार गरिसकेको छ भने नेपाली चलचित्रले करिब ६० वर्ष पार गरिरहँदा नेपाली चलचित्र यो अवस्थासम्म आइपुगेको हो । चलचित्रको विकास हुनुअघि मानव सभ्यतामा नाटक प्रचलनमा थियो ।

विश्व बजारमा हलिउड र बलिउडसँगै कुनै पनि प्रविधिमा प्रतिस्पर्धा गर्न नसके पनि नेपाली चलचित्रको नेपालीपनका कथावस्तुहरूबाट अर्काे शिराबाट चलचित्रको विकास गर्न सकिन्छ । नेपालमा मल्टिप्लेक्स सिनेमा हलहरूको विकास चलचित्र क्षेत्रको अर्को फड्को हो । हिजो सिङ्गल स्व्रिmनमा मात्र चलचित्र प्रदर्शन हुने अवस्थाको अन्त्य हुँदै नेपाली चलचित्र हेर्न मल्टिप्लेक्स हलहरूमा सपरिवार गइरहेका छन् । नेपाली चलचित्र पनि उत्कृष्ट हुन्छन् भनेर सन्देश दिन सकेको सूचना र प्रविधिको समुचित प्रयोग पनि हो ।

पछिल्लो समय नेपाली चलचित्रहरू पनि विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगिरहेका छन् । केही चलचित्रले त्यहाँ प्रतिस्पर्धा गरेर उपाधि पनि ल्याउन सफल भएका छन् । यो राम्रो सन्देश हो । यसरी नेपालमा चलचित्रको निर्माण, प्रदर्शन तथा वितरणलाई नियमित र व्यवस्थित गर्ने उद्देश्यले बक्स अफिस व्यवस्थापन प्रणाली सञ्चालनमा आएपछि नयाँ प्रविधिको प्रयोग र व्यवस्थापन गर्न सजिलो भएको छ । 

चलचित्र समाजको ऐना हो । चलचित्रले वास्तविक समाजको प्रतिविम्बित गर्नु पर्दछ । चलचित्रमा नायक, नायिका, सहनायक, हास्य कलाकारले बोलेका कुरा, खेलेका भूमिका, पहिरन, हाउभाउका सन्देशले समाजमा गहिरो प्रभाव पार्दछ । यसर्थ चलचित्रकर्मीले गर्ने हरेक कुराले समाजमा सकारात्मक प्रभाव पार्ने खालका हुनु पर्दछ । 

चलचित्रले एक देशको भाषा, कला, संस्कृति, वेशभूषालगायतबाट पनि देशको चिनारी दिइरहेको हुन्छ, अर्को देशसम्म पु¥याएका हुन्छन् । कुनै देशको चलचित्रले देखाउने गतिविधिले त्यो देशको समेत प्रतिनिधित्व गरेको हुन्छ । त्यस कारण पनि कलाकार/चलचित्रकर्मी अनुशासित हुन अत्यन्तै आवश्यक छ । चलचित्रकर्मी अनुशासित भएपछि चलचित्रभित्र पनि यो प्रतिविम्बित भइहाल्छ । चलचित्रमा समेत यस्ता विषयवस्तु राख्न सके नयाँ पुस्ताका लागि पनि उचित उपहार हुन सक्छ ।  चलचित्र क्षेत्र सफल हुन राम्रो चलचित्र बनेर मात्रै हुँदैन, राम्रोसँग त्यो चलचित्र चल्नु पनि पर्छ । चलचित्र चल्नुमा एक अर्काको साथ नभई हुँदैन । आफ्नो चलचित्र प्रदर्शन हुँदा कुनै नाम चलेको चलचित्रकर्मीलाई उसको सामाजिक सञ्जालमा सेयर गराउन पनि यहाँ महाभारत युद्ध जिते झैँ हुन्छ । अहिले हाम्रो चलचित्र विश्वमा उत्कृष्ट २० नम्बरमा पनि पर्दैन । कहिले १० नम्बरमा पर्ने अनि कहिले एक नम्बरमा पर्ने ? 

एकैचोटि नपर्ला तर कोसिस त गर्न सक्छाँै नि ! बल्लबल्ल जुर्मुराउन लागेको हाम्रो नेपाली चलचित्र अन्य देशको चलचित्रसँग कसरी प्रतिस्पर्धा गराउने भन्नेमा हामी सबैको एकमत भयो भने विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न सफल हुन्छौँ । त्यसैले हामीबिच एकता आवश्यक छ ।  गरे नहुने के छ र ? हामीकहाँ आफ्नै मौलिकता छ, आफ्नै अनगिन्ति कथा छन्, आफ्नै विशिष्ट संस्कृति छ, खुला फिल्म स्टुडियो छ, उत्कृष्ट अभिनय गर्ने कलाकारहरू हुनुहुन्छ । उत्कृष्ट लेखन अनि निर्देशन गर्ने लेखक निर्देशकहरू पनि । हामीले चाहेमा विश्वमा उत्कृष्ट चलचित्र बनाउन सक्छौँ । अहिले आएर नेपालमा पनि चलचित्र निर्माण, निर्देशन, अभिनयसम्बन्धी अध्ययन गर्न आउने प्रतिभाहरूको सङ्ख्या बढिरहेको छ । अभिभावकले पनि सायद नेपाली चलचित्रको बजार बिस्तारै बढेको, केही चलचित्र अन्तर्राष्ट्रिय बजारमा पनि गइरहेको र केही चलेका कलाकारहरूले यही क्षेत्रबाट नामसँगै आर्थिक अवस्थामा पनि परिवर्तन गरेको देखेर होला, आफ्ना सन्तानलाई चलचित्र पढाउन लगानी गर्दै छन् । कतिपय विद्यार्थी विदेशबाट समेत चलचित्र निर्माण/निर्देशनसम्बन्धी अध्ययन गरेर नेपालमा आएर चलचित्रमा काम गर्दै छन् । हामीले यी सबै कुरालाई सकारात्मक पाटोका रूपमा लिनु पर्छ । यसो हुनुका कारण नेपाली चलचित्रप्रति दर्शक बढ्नु नै  हो । राम्रा चलचित्र बनेपछि दर्शक बढ्छन् नै । अहिले आएर त्यो क्रम बिस्तारै बढेको हामी अनुमान गर्न सक्छौँ । यसरी हेर्दा नेपाल सरकारले चलचित्रको विकासका लागि गरेको वृत्ति विकास, बक्स अफिसलगायतबाट प्रकारान्तरले आउँदा दिनमा गति प्रदान गर्ने छ ।  

Author

ऋषिराज आचार्य