• ६ जेठ २०८१, आइतबार

कुखुरापालन व्यवसाय सङ्कटमा: बढी उत्पादन र माग कम

blog

काठमाडौँ, पुस १३ गते । पछिल्लो समय कुखुरापालन व्यवसाय सङ्कटमा परेको छ । कुखुरा व्यवसायीले मासु र अण्डाको उचित मूल्य पाउन नसक्दा व्यवसायीहरु विस्थापित हुने  स्थितिमा पुगेको व्यवसायीहरूले जनाएका छन् । 

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार किसानहरूले मूल्य कम पाएका कारण व्यवसाय नै छोडेर विस्थापित हुने जोखिम रहेको छ ।

उहाँले भन्नुभयो,“किसानले मासु र अण्डको मूल्य कम पाएका कारण व्यवसाय नै छोडेका छन् ।बिचौलियाले बढी पैसा लिएर व्यापार गर्ने गरेकाले न उपभोक्ताले सस्तो मूल्यमा खान पाएका छन् न किसानले राम्रो मूल्य पाएका छन् ।” मागको तुलनामा उत्पादन बढी हुँदा किसानको लागत मूल्य नै बढी पर्न आउनाले कुखुरापालन व्यवसाय सङ्कटमा परेको उहाँ बताउनुहुन्छ । 

बैङ्कले कृषिमा दिने कर्जामध्ये अधिकांश कुखुरापालन व्यवसायमा रहेकाले पनि कतिपय किसानले ऋण तिर्नसमेत धौ धौ भएर व्यवसायबाट विस्थापित भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बैक तथा वित्तीय सङ्ख्याले कर्जा प्रवाह गर्दा १५ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने प्रावधान छ । त्यसैले धेरैमा लगानी गर्नुभन्दा कुखुरापालनमै कर्जा प्रवाह गरेका छन् ।त्यसैले धेरै व्यवसायीले ऋण तिर्न नै समस्या भएको छ ।” 

कुखुरापालन व्यवसायको हब मानिएको चितवनमा नै धेरै किसान सङ्कटमा छन् । एकातिर दानाको मूल्यवृद्धि अर्कोतिर लागत अनुसारको चल्ला र अण्डाको मूल्य नपाउँदा सङ्कटमा छन् ।

अण्डा उत्पादन बढ्यो तर माग बढेन 

अहिले देशभर लेयर्स कुखुरा पाल्नेको सङ्ख्या सात हजारभन्दा बढी छ । दैनिक ४० लाख अण्डा उत्पादन हुने गरेको छ । तर माग अनुसारको अण्डा भने बिक्री नहुने नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष केसी बताउनुहुन्छ । 

“अण्डाको उत्पादन जति बढेको छ । सो अनुपातमा माग नै छैन । त्यसैले पनि किसान चिन्तित छन्,”उहाँले भन्नुभयो,“कोरोनाको समयमा अण्डाको माग अत्यधिक थियो, अहिले त्यस्तो छैन ।” 

अर्थशास्त्रको नियम अनुसार नै माग र आपूर्तिको अनुपात बिग्रिनेबित्तिकै अवस्था बिग्रने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार अहिले अण्डा प्रतिगोटा  दश रुपियाँ लागत मूल्य लाग्छ । तर सात रुपियाँमा मात्र अण्डा बिक्री हुने गरेको छ । 

एकातिर बजारको समस्या त अर्कोतिर तापक्रमका कारण लामो समय राख्दा अण्डा बिग्रिने भएकाले अण्डा खेर गइरहेको उहाँको भनाइ छ । तर यता बजारमा भने अण्डाको मूल्य प्रतिगोटा २० रुपियाँ छ । 

सरकारको अनुगमन भएन 

नेपाल अण्डा उत्पादक सङ्घ झापाका अध्यक्ष भरत चौलागाईंका अनुसार सरकारले कुखुरापालन व्यवसायमा अनुगमन नगर्दा यो समस्या आएको बताउनुहुन्छ । राज्यले उत्पादनमा सहजता र बजार व्यवस्थापनको नीति बनाउनुपर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “राज्यले कुखुरापालन व्यवसायमा नियमित अनुगमन गर्नुपर्छ, उत्पादनमा सहजता र बजार व्यवस्थापनको नीति बनाइदिए मात्र धेरै सहजता हुने थियो ।” झापा जिल्लामा मात्र पछिल्लो दुई वर्षमा १०० बढी किसानहरू विस्थापित भएको तथ्याङ्क रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “झापा जिल्लामा मात्र गतबर्ष १५७ किसाले फर्म दर्ता गरेका थिए । अहिले जम्मा ३८ किसानले मात्र फर्म दर्ता गराएका छन् । देशका अन्य ठाउँमा पनि यस्तै अवस्था छ ।”

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।