• ११ मंसिर २०८१, मङ्गलबार

जोगाइँदै लोक भजन

blog

मल्लरानी गाउँपालिका–३ स्थित पालुकाथान मन्दिरमा लोक भजन प्रस्तुत गरिँदै ।

सुजल श्रेष्ठ 

प्युठान, पुस १३ गते । मल्लरानी गाउँपालिका–२ का प्रेम जिसीले वर्षौपछि हनुमान नाँच देख्न पाउनुभयो । बाल्यकालमा गाउँमा हुने पूजामा हनुमान हेरेका उहाँले वर्षौंपछि अहिले देख्न पाउनुभएको हो । मल्लरानी गाउँपालिका–३ स्थित पुरानो मन्दिर पालुकाथानमा प्रस्तुत गरेको हनुमान नाँच जिसीसहित सयौँ दर्शकले रुचिपूर्वक हेरेका थिए । 

पछिल्लो समय हराउँदै गएको लोक भजन तथा चुड्का नाँच संरक्षण गर्न भन्दै मन्दिर व्यवस्थापन समितिले उक्त नाँच प्रस्तुत गरेको हो । जिल्लामा अझै पनि केही ठाउँमा प्रस्तुत गरिने उक्त नाँचलाई संरक्षण गर्ने उदेश्यले मेला आयोजना गरिएको वडा नम्बर ३ का वडाध्यक्ष नोमराज पौडेलले बताउनुभयो ।

जिल्लामा लोक भजन तथा चुड्का नाँच संरक्षण समिति बनाएर यसको संरक्षण तथा प्रवर्धन गर्न थालिएको समितिका अध्यक्ष भूपेन्द्रप्रसाद अधिकारीले बताउनुभयो । लोक भजन तथा चुड्का नाँच संरक्षणका लागि प्रयास थालिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हराउँदै गएको संस्कृतिको जगेर्ना गर्ने प्रयास थालेका छौँ । विभिन्न ठाउँमा पुगेर हामीले नाँच प्रस्तुत गर्दै आएका छौँ ।”

लोक भजन अन्तर्गत हनुमान नाँच एकदमै रमाइलो नाँच मानिन्छ । समितिका सदस्य मधुसूदन खड्काले भन्नुभयो, “नयाँ पुस्ताले यो नाँच देखेका थिएनन् । हनुमान नाँच धेरैले रुचाउने गरेका छन् । उहाँका अनुसार प्युठान जिल्लासहित छिमेकी जिल्लामा पुगेर नाँच प्रदर्शन गर्ने गरिएको छ । विभिन्न मेला, पर्वका अवसरमा संस्थागत तथा व्यक्तिगत निमन्त्रणामा कार्यक्रम गर्ने गरेको खड्काले बताउनुभयो । अहिले समितिले जिल्लाका सबै स्थानीय तहमा पुगेर लोक भजन तथा चुड्का नाँच संरक्षणमा सहयोग गर्न जनप्रतिनिधिलाई आग्रह गरेको छ । समितिको टोली स्थानीय तहमा पुगेर लोक भजन तथा चुड्का नाँचको महिमाबारे जनप्रतिनिधिलाई जानकारी गराउँदै यसको संरक्षण र प्रवर्धनका लागि सहयोग गर्न आग्रह गर्ने गरेको समितिले जनाएको छ ।