• २१ असार २०८१, शुक्रबार

पाथीभराको भेटी रकम साढे आठ करोड

blog

भक्तजनले चढाएको भेटी रकम मिलाउँदै समितिका कर्मचारीहरु। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १२ गते। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा झण्डै साढे आठ करोड रुपियाँ भेटी रकम सङ्कलन भएको छ। हालसम्म भक्तजनले चढाएको तथा दान गरेको उक्त रकम बराबर भेटी सङ्कलन भएको हो। 

पाथीभरा क्षेत्र विकास समितिले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार मङ्सिर मसान्त सम्ममा कुल आठ करोड ४५ लाख ९४ हजार ३३६ रुपियाँ भेटी रकम सङ्कलन भएको हो। समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिर महिनामा मात्र ६८ लाख ११ हजार ११० रुपियाँ भेटी सङ्कलन भएको बताउनुभयो।

कुल सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा १० लाख ७० हजार ७८७ रुपियाँ खर्च भएको पनि हाङ्बाङले जानकारी दिनुभयो। उहाँका अनुसार सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम ढुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा खर्च भएको छ। उहाँले खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार ५४८ रुपियाँ बैङ्कमा मौज्दात रहेको बताउनुभयो।

समितिका अनुसार नेपाल बैङ्क लिमिटेड, लक्ष्मी सनराइज बैङ्क, सानिमा बैङ्क, प्रभु बैङ्क र एनएमवि बैङ्कका शाखामा रकम मौज्दात रहेको छ। उक्त बैङ्कमा सञ्चालित मुद्दती खातामा छ करोड ८८ लाख रुपियाँ मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार ४४० रुपियाँ रहेको समितिले जानकारी दिएको छ। 

भेटी रकमबाहेक पाथीभरामा भक्तजनले चढाएको १८६ तोला छ लाल सुन रहेको पनि समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक हाङ्बाङका अनुसार ८६ तोला ९३ लाल सुन सुद्ध अर्थात् रिफाइन गरिएको रहेको छ भने बाँकी ९८ तोला ४१ लाल रिफाइन गरिएको सुन रहेको समितिका सदस्य एवम् सुनचाँदी व्यवस्थापन उपसमिति संयोजक शम्भुप्रसाद गौतमले जानकारी दिनुभयो।

त्यस्तै हालसम्म रिफाइन नभएको चाँदी ९२ किलोग्राम ६५० ग्राम रहेको पनि समितिले जानकारी दिएको छ। अन्य धातुमा तामा छ हजार ५३९ किलोग्राम ७७५ ग्राम र विभिन्न धातुको घण्टी १६ हजार ३६८ किलोग्राम रहेको पनि समितिले जनाएको छ। भक्तजनले चढाएको सुन र चाँदीलाई चाँडै रिफाइन गरी बिक्रीसहित व्यवस्थापन गर्ने योजना रहेकोसमेत समितिले जानकारी दिएको छ।

यता पाथीभराको थप प्रचारप्रसार र दर्शनार्थीका लागि देवीको दर्शनलाई सहज बनाउने कार्यमा पाथीभरा क्षेत्र विकास समिति निरन्तर लागिपरेको समिति अध्यक्ष रक्की थेबेले बताउनुभयो। अधिकतम् भक्तजन आउनेगरी दर्शन यात्रालाई अझ सहज बनाउने, भेटीपातीलाई थप व्यवस्थित गर्ने र सबैसामु पारदर्शी हुनेगरी समितिले योजना बनाएर काम गर्न सुरु गरेको पनि अध्यक्ष थेबेको भनाइ छ। समितिको दायित्वलाई प्रभावकारी बनाउन जनशक्ति तथा कार्यालय व्यवस्थापनको थप काम भइरहेको  समितिले जानकारी दिएको छ।