• ६ जेठ २०८१, आइतबार

सरकारको एक वर्ष

लाइसेन्सका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य : प्रवक्ता पनेरु

blog

काठमाडौं, पुस ९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हालेसँगै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियामा देखिएका समस्या समाधान हुँदै गएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकले लाइसेन्स प्रक्रियामा देखिएका समस्या समाधान गर्ने निर्णय गर्‍यो । 

अहिले सवारी चालक अनुमति पत्रका लागि दैनिक छदेखि सात हजार हाराहारीमा माग आउने गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार लाइसेन्स प्रक्रियामा अनलाइन सेवालाई थप व्यवस्थित गरेपछि दैनिक छ हजारको हाराहारीमा माग रहेको बताउनुभयो ।

तर अहिले विभागसँग दैनिक पैँतालिस सयको हाराहारीमा मात्र लाइसेन्स छाप्ने सामर्थ्य  छ । पछिल्लो एक वर्षमा लाइसेन्स प्रक्रियामा व्यापक सुधार भएको छ । सवारी चालक अनुमति पत्रलाई अनलाइन सेवाबाट प्रदान गर्ने व्यवस्था गरेसँगै दुई–तीन वर्षसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रवक्ता पनेरुका अनुसार पहिले फारम भरेपछि लाइसेन्स परीक्षा दिनका लागि दुई-तीन वर्षसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । देशका ११ वटा कार्यालयमा विद्युतीय सवारी दर्ता प्रणाली सुरुवात गरी सेवा प्रवाहलाई थप व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पहिले सम्पूर्ण अभिलेखहरू कागजी रूपमा राख्ने गरिएको थियो । अहिले देशका ११ वटा कार्यालयमा विद्युतीय सवारी दर्ता प्रणाली सुरुवात गरी सेवा प्रवाहलाई थप व्यवस्थित बनाइएको छ ।”

यो प्रणालीले देशभरको सवारीको तथ्याङ्क पनि केही बेरमा नै थाहा पाउन सकिने उहाँ बताउनुहुन्छ । पहिले एक व्यक्तिको नागरिकताबाट धेरैले सवारी चालक अनुमति पत्र प्राप्त गर्न सकिन्थ्यो । तर अहिले एउटा मात्र लाइसेन्स पाउने व्यवस्था समेत गरिएको प्रवक्ता पनेरु बताउनुहुन्छ ।

एक वर्षमा तीन लाख ९१ हजार लाइसेन्स वितरण
एक वर्षमा यातायात व्यवस्था विभागले तीन लाख ९१ हजार लाइसेन्स वितरण गरेको छ । १२ लाख कार्ड जर्मनीबाट खरिदको प्रक्रियामा रहेकाले लाइसेन्स छपाइ र वितरण प्रक्रियालाई थप प्रभावकारी बनाइने उहाँ बताउनुहुन्छ ।

अहिले दैनिक चारदेखि पाँच सय जनालाई लाइसेन्स वितरण गरिएको उहाँ बताउनुहुन्छ । विभागले अहिले कार्ड निर्माण भएपछि सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज जाने व्यवस्था गरेको छ ।

तीन लाख ७१ हजार इम्बोस्ड नम्बर तयार

विभागका प्रवक्ता पनेरुका अनुसार अहिलेसम्म तीन लाख ७१ हजार इम्बोस्ड नम्बर प्लेट तयार भएर जडानका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ ।

उहाँले भन्नुभयो, “तीन लाख ७१ हजार नम्बर प्लेटहरू छापेर सम्बन्धित कार्यालयमा पठाएका छौँ । इम्बोस्ड नम्बर प्लेटजडानका लागि विभागले प्राविधिक सहयोग गर्ने गरेको छ । अझै व्यवस्थित भएको छैन । विभाग व्यवस्थित गर्ने प्रक्रियामै छ ।”

भिडियो : मनोजरत्न शाही र केशब गुरुङ

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।