• १२ मंसिर २०८१, बुधबार

तुइन तरेको भाडा एक सय

blog

हुम्ला समाचारदाता

हुम्ला, पुस ८ गते । कर्णाली नदीमा तुइन तरेको एक सय रुपियाँ भाडा तिर्नुपर्ने भएको छ । सर्केगाड गाउँपालिका– २, ल्याप्चेमा व्यवसाय सञ्चालन गरेका स्थानीयले आफ्नै लगानीमा तुइन निर्माण गरी पैदल यात्रुबाट एक सय रुपियाँ भाँडा असुल गर्दै आएका छन् । 

ल्याप्चेस्थित कर्णाली नदीमाथि व्यक्तिगत लगानीमा निर्माण गरिएका तुइनमा तर्नुभएका पैदल यात्रु सरोज रावतले एक सय रुपियाँ भाडा तिरेको बताउनुभयो ।  पैदल यात्रुलाई डेढ घण्टा लामो बाटो हिँड्न नपर्ने भएपछि स्थानीयले निर्माण गरेको तुइनमा भाडा तिरेर चढ्दै आउनु परेको हो । एक पटक तुइनमा नदी पार गर्न दुई जनासम्म यात्रु राख्ने गरिन्छ । 

उहाँले बसको टिकट काटे जस्तै अग्रिम रूपमा भाडा बुझाएर मात्र तुइन तर्न पाउने व्यवस्था गरिएको बताउनुभयो । कर्णाली पारिपट्टि पनि घोडेटो बाटो भएको तर त्यस बाटो हिँड्दा डेढ घण्टा बढी समय लाग्ने भएका कारण तुइन तर्दै आउने गरेका छन् ।  तुइन निर्माण गरेर भाडा असुल्दै आउनुभएका सञ्चालक वीरबहादुर थापाले व्यक्तिगत लगानी गरेर मानिस र सामान ढुवानी गरेको भाडा लिने गरिएको बताउनुभयो ।

उहाँले मानिस तारेको प्रतिव्यक्ति एक सय रुपियाँ र सामान प्रतिकेजी दुई रुपियाँका दरले भाडा उठाउने गरिएको जानकारी दिनुभयो । तुइन सञ्चालन गर्न पाँच जना कामदारलाई दैनिक प्रतिकामदार एक हजार रुपियाँ ज्याला दिने गरी राखिएको छ ।