• ३१ वैशाख २०८३, बिहिबार

सप्तरीमा सात फरार प्रतिवादी सप्तरीबाट पक्राउ

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), वैशाख २९ गते ।
सप्तरी प्रहरीले फैसला कार्यान्वयनको सिलसिलामा सात जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मुद्दामा सप्तरी जिल्ला अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रुपनी गाउँपालिका वडा नम्बर २ का रामनारायण खेरबार यादव, अनिता देवी यादव, फुलेश्वर सरदार रहनु भएको छ ।

त्यसमध्ये रामनारायण र अनितालाई कुटपीट मुद्दामा ५७ रुपियाँ ५० पैसा जरिवाना गरिएको छ भने फुलेश्वरलाई कुटपीट/लुटपीट मुद्दामा ४९ रुपियाँ १६ पैसा जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

यस्तै सोही गाउँपालिका वडा नम्बर १ का सिताराम यादव र रामलखन भिन्डबारलाई पक्राउ गरिएको छ । उहाँहरुलाई जालसाजी मुद्दामा ५० रुपियाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

यसैगरी सोही ठाउँका जितेन्द्र साह र इन्द्रदेव यादवलाई पनि पक्राउ गरिएको हो। कुपपीट मुद्दामा साहलाई ५० रुपियाँ र यादवलाई दुईसय रुपैयाँ जरिवाना भएको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।

पक्राउ परेका सातै जना प्रतिवादीबाट कुल चारसय ६४ रुपियाँ १६ पैसा जरिवाना उसुल उपर गर्न सोमबार अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।