• २४ पुस २०८१, बुधबार

गौशाला नगरपालिकाका उपप्रमुख चढने गाडीमा आगजनी

blog

गौशाला नगरपालिकाका उपप्रमुख रेणु चढने सराकरी गाडीमा भएको आगजनी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दीबास, पुस ८ गते ।
गौशाला नगरपालिकाका उपप्रमुख रेणु महतो चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट प्रदेश२–०२–००१ झ ०००५ नम्बरको सरकारी गाडीको पछिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

उपप्रमुख महतोको गौशाला १ रामनगरस्थित घर आँगनमा पार्किङ गरिएको अवस्थामा शनिबार राति गाडीमा आगजानी भएको प्रहरीले जनाएको छ । घरका परिवारले राति करिव २ बजेतिर गाडीमा आगो लागेको देखेपछि इलाका प्रहरी प्रहरी कार्यालयलाई खबर गरेको उपप्रमुख महतोले गोरखापत्रलाई जानकारी दिनुभयो ।

इलाका प्रहरी निरीक्षक मनोज यादवको कमाण्डमा राति नै घटना स्थल पुगेको प्रहरीले घटना स्थलबाट डीयुको ठूलो बोतल फेला पारेको छ । बोतलबाट आएको गन्धको आधारमा आगजनी पेट्रोल छर्केर लगाएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

प्रहरी निरीक्षक यादवका अनुसार आगजनी कसले र किन गरेको स्पष्ट हुन सकेको छैन । घटनाको स्थलगत मुचुल्का गरी सघन अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

उपप्रमुख महतोले शनिबार साँझ जनकपरबाट रामनगर आई घरको आँगनमा पार्किङ गरेको अवस्थामा घटना भएको बताउनु भयो ।