• १० मंसिर २०८१, सोमबार

सेतो सुनको सुवास

blog

जलस्रोतका क्षेत्रमा विश्वमा ब्राजिलपछिको दोस्रो सम्पन्न मुलुकका रूपमा नेपाल चिनिँदै आएको छ । पाँच दशकअघि जलस्रोतविद् हरिमान श्रेष्ठले विद्यावारिधि शोधका क्रममा नेपालका नदीनालाबाट विद्युत् उत्पादन हुन सक्ने कुल क्षमता ८३ हजार मेगावाट भएको अनुमानित आँकडालाई आधार मान्दै जलविद्युत्मा दोस्रो धनी भनिँदै आएको छ । केही समयअघि जल तथा ऊर्जा आयोगले ‘सिल्ड एन्ड सिम्याट’ लाई परामर्शदाता कम्पनी नियुक्त गरेर गराएको अध्ययनबाट समेत यसैको हाराहारीको प्रतिवेदन सार्वजनिक हुनुलाई भरपर्दो मान्नुपर्ने हुन्छ । दुःखको कुरा त अपार जल सम्पदाको उपयोग गर्न नसक्दा १६ घण्टासम्मको विद्युत्भार कटौती विगतको अँध्यारो बाध्यता बन्यो । अहिले विद्युत्भार कटौती भए पनि गुणस्तरीय विद्युत् आपूर्ति छैन, उद्योग क्षेत्रले पर्याप्त र गुणस्तरीय विद्युत् नपाएको गुनासो गरिरहेकै छन् तर पनि बढी भएको विद्युत् छिमेकी मुलुक भारतलाई बिक्री गर्न सफल हुँदा निर्यातबाट धनराशि हात लाग्न थालेको छ । एक वर्षमा पन्ध्र अर्ब रुपियाँभन्दा बढी आर्जन हुनुलाई ठुलै उपलब्धि मान्नु पर्छ । त्यसो त गुणस्तरीय विद्युत् त प्राप्त छैन नै साथै वर्षभर समान आपूर्तिसमेत छैन । वर्षायाममा बढी भएको बिजुली बेचेर हिउँदमा कम हुँदा उतैबाट आयात गरेर आवश्यकता पूर्ति गरिँदै छ । निर्माणाधीन केही आयोजना पूरा भएपछि पक्कै पनि त्यो स्थितिको अन्त्य भएर विद्युत् निर्यातक देशको रूपमा चिनिने दिन अब टाढा नभएको आकलन भने गर्न थालिएको छ । 

मुलुकको समृद्धि यात्राको मूल आधार भनेकै विद्युत् हो भन्नेमा कसैको पनि दुईमत नहोला । मूल कुरा त उत्पादनको हो । उत्पादित विद्युत् निर्यातका लागि छिमेकी मुलुक भारतसँग दस वर्षमा दस हजार मेगावाट विद्युत् खरिद बिक्री सम्झौता सरकारले सम्पन्न गरिसकेको छ । यसै गरी प्रारम्भिक चरणमा ४० मेगावाट बङ्गलादेशलाई बिक्री गर्न नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय विद्युत् व्यापार कम्पनीबिच त्रिपक्षीय विद्युत् बिक्री सम्झौता सम्पन्न भएर यतातिरको पनि ढोका खोलिएको छ । छिमेकी मुलुकमा मात्र नभएर नेपाल दक्षिण एसियाको उपक्षेत्रीय बजारमा समेत प्रवेश गरिसकेको छ भने उत्तरी छिमेकी मुलुकसँग पनि सरकारले हात बढाइसकेको छ । उत्पादित विद्युत्को भरपर्दो वितरण तथा प्रसारणका लागि ठुला सबस्टेसनको निर्माण र प्रसारण लाइन विस्तारमा विद्युत् प्राधिकरणले पछिल्लो चरणमा उत्साहजनक प्रगति हासिल गरेको छ ।

विद्युत् पूर्वाधारको निर्माण क्रममा ४०० केभी क्षमताको ढल्केबर विद्युत् सबस्टेसनको सञ्चालनपछि सुनसरी जिल्लाको इनरुवा (भोक्राहा) मा ४०० केभीकै दोस्रो सबस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार उद्घाटन गर्नुभयो । सबस्टेसनको उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले देशभित्र विद्युत् प्रसारण तथा वितरण प्रणालीको सुदृढीकरण गरी भरपर्दो र गुणस्तरयुक्त विद्युत् आपूर्ति गर्न र भारत तथा बङ्गलादेशसँगको विद्युत् व्यापारका लागि ‘जिआइएस’ प्रविधियुक्त स्वचालित सबस्टेसनको उद्घाटन हुनु खुसीको कुरा भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाल–भारतबिच मात्र नभएर उपक्षेत्रीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि सबस्टेसन मेरुदण्डको रूपमा निर्माण गरिएको सगौरव सुनाउनुभयो । सोही समारोहमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले वर्तमान सरकारको एकवर्षे कार्यकालभित्र पाँच सय मेगावाट विद्युत् उत्पादन भएको र आगामी वर्ष थप पाँच सय मेगावाट उत्पादन हुने जानकारीले थप उत्साह नदिने कुरा भएन । आगामी दस वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने विश्वसनीय आधार तयार भएको सरकारको दाबीले मुलुकले ‘सेतो सुन’ को व्यापारबाट समृद्धि हासिल गर्ने सपना पूरा हुन धेरै समय कुर्नु नपर्ने पूर्वाधार खडा हुँदै जानु उज्यालो नेपालको आधारशिला पक्कै हो । 

ठुला आयोजनाबाट उत्पादित विद्युत्को भार सम्प्रेषण गर्नलाई ४०० केभीदेखि ६६५ केभीसम्मका सबस्टेसनको निर्माण आवश्यक हुने प्राविधिको भनाइ छ । हालसम्म निर्माण भएका १३२ केभी र २२० केभी क्षमताका सबस्टेसन तथा प्रसारण लाइनबाट गुणस्तरयुक्त विद्य्त् प्रसारण नहुने भएकाले ४०० केभीका सबस्टेसन तथा ठुलो क्षमताका प्रसारण लाइनको विस्तारमा तत्काल ध्यान दिन आवश्यक देखिएको हो । विद्युत् विकास तथा विस्तारकै लागि सरकारले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सँग सहकार्यका लागि ५० करोड डलरको सम्झौता गरिसकेको छ । यसलाई मुलुकको समृद्धिका लागि सरकारले अर्को ढोका खोलेको ऊर्जाविद्हरूको भनाइ छ । विद्युत् प्रसारण लाइन विस्तारमा खर्च गर्ने गरी प्राप्त परियोजनाका कारण उज्यालो नेपाल अभियानसँगै सेतो सुनको सुवास अझ प्रगाढ हुँदै जाने निश्चित छ ।