• १५ मंसिर २०८१, शनिबार

जनतामा बढेको निराशा लोकतन्त्रका लागि खतरा : सांसद गैरे

blog

पत्रकार भेटघाटमा आफ्नो विचार राख्नुहुँदै नेता ठाकुर गैरे। तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, पुस ७ गते।  प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले जनतामा बढेको निराशा लोकतन्त्रका लागि खतरा रहेको बताउनुभएको छ।  भ्रष्टाचार, बेतिथि र तस्करीका कारण जनतामा निराशा बढेकाले जनतामा बढेको निराशालाई हटाउतर्फ सबै लाग्नुपर्ने विचार राख्नुभयो।  

संसदमा प्रवेश गरेको एक वर्षको बितेको सन्दर्भमा शनिबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा उहाँले निराशालाई उत्साहमा पैदा गर्ने गरी संसदमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो।  उहाँले भन्नुभयो, ‘‘बिहान उठ्ने बित्तिकै जनताले भ्रष्टाचार, बेतिथि र तस्करीका समाचार सुन्नुपर्ने अवस्थाले जनतामा व्यापक निराशा बढेको छ, त्यो लोकतन्त्रका लागि खतरापूर्ण छ। ’’ जनतामा छाएको निराशालाई घटाउन सबै पक्ष भ्रष्टाचारविरुद्धमा एकजुट भएर लाग्नुपर्ने गैरेले बताउनुभयो।  

संसदमा प्रवेश गरेको एक वर्षको अवधिमा आफूले संसदमा उठाएका धेरै मुद्दामध्ये सरकारले थोरै मुद्दा मात्र सम्बोधन गर्न सकेको उहाँले दाबी गर्नुभयो।   एक वर्षमा ९० पटक संसद्को बैठक बसेकोमा आफूले ७९ वटा बैठकमा सक्रिय रूपमा सहभागी भएको जानकारी गराउनुभएको छ। 

संसदमा आफूले राष्ट्रियताका मुद्दा, जनजीविकाका मुद्दा, पाल्पाली जनताका दुःखसुखका मुद्दा उठाएको उहाँले जानकारी दिनुभयो।  संसद्ले एक वर्षको अवधिमा धेरै काम गर्न सक्ने भए पनि धेरै काम गर्न नसकेको र त्यसमा सरकारले ऐन तथा कानुन टेबल गर्न नसकेको गैरेले उल्लेख गर्नुभयो।  

नेता गैरेले आगामी दिनमा पनि आफूले संसद्मा असल जनप्रतिनिधिका रूपमा भूमिका खेल्ने र जनताका चाहना र आवश्यकतालाई मध्यनजर गर्दै कानुन निर्माणमा सहभागी बन्ने प्रतिबद्धता जनाउनुभयो।