राजन रावत
हुम्ला, वैशाख २९ गते । स्थानीय बासिन्दाले व्यक्तिगत जग्गा दिन तथा सडक निर्माण क्षेत्रमा पर्ने घर भत्काउन सहमति जनाएपछि भित्री सडक निर्माण कार्यले तीव्रता पाएको छ । तीन वर्षअघि देखि सडक निर्माण गर्ने योजना भए पनि यस वर्ष सिमकोट गाउँपालिका–६ पाउवाडा (माथिल्लो गाउँ) का बासिन्दाको सहमतिपछि निर्माण कार्य अघि बढाइएको हो ।
यसअघि घोडेटो बाटो रहेको पाउवाडा बस्तीको मुग्राधाराबाट तलीवाडासम्म मुख्य सडकबाट भित्री सडक निर्माण कार्य धमाधम भइरहेको स्थानीय राजु रावतले बताउनुभयो । पहिले दुईदेखि तीन मिटर चौडाइ रहेको बाटोलाई हाल पाँच मिटर चौडाइ बनाउने कार्य भइरहेको उहाँको भनाइ छ ।
गत वर्षसम्म स्थानीयले व्यक्तिगत जग्गा दिन तथा सडक क्षेत्रमा पर्ने घर भत्काउन अस्वीकार गरेकाले सडक निर्माण हुन सकेको थिएन । वडा अध्यक्ष नन्द रावतको पहलमा स्थानीयबीच बैठक बसी सहमति भएपछि सडक निर्माण कार्य अघि बढेको उहाँले बताउनुभयो ।
चौत्थादेखि करिब डेढ सय मिटर अगाडि जोगी पिन्यारासम्मको क्षेत्रमा व्यक्तिका जग्गामा रहेका स्याउ, चुली र आरुका बिरुवा हटाइएको छ । उक्त स्थानमा ग्यावियन लगाउने कार्य पनि भइरहेको छ । साथै व्यक्तिका घर जाने सिँढीहरू भत्काउने कामसमेत गरिएको छ ।
त्यस्तै, सोही बस्तीको तलीवाडा क्षेत्रमा रहेका १६ वटा घर भत्काइएको वडा अध्यक्ष नन्द रावतले बताउनुभयो । भत्काइएका घरहरूको आवश्यक संरचना सिमकोट गाउँपालिकाले निर्माण गर्ने नियम रहेको छ ।
सिमकोट गाउँपालिकाको भित्री बस्ती सडक विस्तार कार्यक्रमअन्तर्गत यो सडक निर्माण गरिएको हो । मुग्राधारा, चौत्था, तलीवाडा हुँदै सञ्चार टोलसम्मको सडक निर्माण असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । निर्माणपछि सो सडकमा यातायातका साधन सञ्चालन हुनेछन् ।
घना बस्ती रहेको क्षेत्रमा सडक निर्माण भएपछि आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ । निर्माण कार्य उपभोक्ता समिति गठन गरी सञ्चालन भइरहेको छ । यसका लागि गाउँपालिकाले १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।