शालिग्राम नेपाल
चितवन, वैशाख २९ गते । कार्यालय प्रमुखको सक्रियताले निर्माण कार्यले कसरी गति लिन्छ भन्ने उदाहरण बनेको नारायणी तटबन्धनका दुई ठेक्का कार्य हुन् । साढे तीन वर्षअघि निर्माण सम्झौता भएर काम सुरु गरिएको चितवनको सिसै–भगेडी वालुवा क्षेत्रको ६ किलोमिटर तटबन्धन २४ प्रतिशत मात्र सम्पन्न भएको थियो । गत कात्तिक महिनामा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका प्रमुख डा. नारायणप्रसाद सुवेदी आएपछि छ महिनामै निर्माण कार्यले गति लिई ७० प्रतिशत पुगेको हो ।
त्यस्तै, साढे तीन वर्षसम्म ४७ प्रतिशत मात्र काम भएको नारायणी नदीपारी गैंडाकोटको कुसुमघाटदेखि थुम्सीसम्मको निर्माण कार्य हाल ८४ प्रतिशत सम्पन्न भएको छ । वर्षौंदेखि ढिलासुस्ती भइरहेको निर्माण कार्यलाई गति दिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख डा. सुवेदीले सक्रियता बढाएपछि निर्माण कम्पनीले काम अघि बढाएको कार्यालयका सूचना अधिकारी सागर पौडेलले जानकारी दिनुभयो ।
चितवनको सिसै–भगेडी वालुवा क्षेत्रको निर्माण कार्य २०७९ असार १० गते सम्झौता भएको थियो । शर्मा सगुन निर्माण कम्पनीले ठेक्का पाएको उक्त काम गत कात्तिकसम्म २४ प्रतिशत मात्र सम्पन्न भएको थियो । चितवनतर्फका पाँच वटा ठेक्कामध्ये चार वटा प्याकेजको काम सम्पन्न भइसके पनि सिसै–भगेडीको काम भने २४ प्रतिशतमै रोकिँदै ढिलासुस्ती भइरहेको थियो ।
चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीले बताउँदै आएको थियो । संरक्षणसम्बन्धी समस्या समाधानका लागि विभिन्न निकायमा पहल गरेपछि कामले गति लिएको कार्यालय प्रमुख डा. सुवेदीले बताउनुभयो । ६ किलोमिटर लामो यो तटबन्धन ३७ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँकी ३० प्रतिशत काम असारसम्म सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।
निर्माणका क्रममा विभिन्न बाधा–अड्चन आउने भएकाले ती समस्या समाधानका लागि निरन्तर पहल भइरहेको कार्यालय प्रमुख डा. सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “समस्या कहाँबाट आएको हो र कसरी समाधान गर्न सकिन्छ भन्ने पहिचान गरी निरन्तर पहल गरेपछि काम अघि बढेको हो ।” नारायणी नदी निकुञ्ज र आसपास भएर बग्ने भएकाले संरक्षणसम्बन्धी कारणले केही चुनौती रहे पनि सबै पक्षको सहकार्यमा काम भइरहेको उहाँको भनाइ छ ।
त्यस्तै, गैंडाकोटतर्फको कुसुमघाट–थुम्सी क्षेत्रको करिब ५ किलोमिटर तटबन्धनका लागि २०७९ मङ्सिर १५ गते ठेक्का सम्झौता भएको थियो । १ अर्ब ९ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त कार्य हाल ८४ प्रतिशत सम्पन्न भएको छ । असारसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य भइरहेको कार्यालयले जनाएको छ ।
चितवनको नारायणी नदी पुलबाट दक्षिण मेघौलीसम्म पाँच वटा प्याकेजमा तटबन्धन कार्य भएको थियो । तीमध्ये चार वटा निर्माण सम्पन्न भइसकेका छन् भने एउटा अन्तिम चरणमा पुगेको छ । त्यस्तै, पुरानो ठेक्का सम्झौताअन्तर्गत गैंडाकोटको कुसुमघाट–थुम्सी खण्डको काम पनि यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
पुराना ठेक्कामध्ये यी दुई ठेक्काको काम समयमा सम्पन्न हुन नसक्ने जटिल कार्यका रूपमा मानिँदै आएको थियो । तर अहिले जटिल मानिएको काम पनि यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी अघि बढाइएको कार्यालय प्रमुख डा। सुवेदीले बताउनुभयो । उहाँका अनुसार विदाको दिनमा पनि काम भइरहेको छ ।
तटबन्धन निर्माणले नारायणी नदीमा आउने बाढी र कटानबाट दुवै जिल्लाका बस्तीहरू सुरक्षित हुने अपेक्षा गरिएको छ । चितवन र नवलपरासी जिल्लामा बाँकी रहेका साना तथा टुक्रे तटबन्धनका काम पनि निरन्तर भइरहेको कार्यालयले जनाएको छ ।