काठमाडौँ, पुस ७ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदमा विमालेख कार्यक्रमको शुभारम्भ गरेको छ ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले आफुले पद वहाली भएको सुरुमा प्रतिवद्धता जनाएको खेलाडीको विमालेख कार्यक्रमलाई दुई वर्षपिछि पूर्ण रुप दिन सक्नुभएको हो । उहाँले ढिलै भएपनि प्रतिवद्धता पूरा गरेको जानकारी दिनुभयो ।
घिसिङले २०७८ मङ्सिर १४ गते सदस्य सचिवको पदभार ग्रहण गर्ने क्रममा ‘खेलकुद विमालेख’ कार्यान्वय गर्ने घोषणा गर्नुभएको थियो । नेपाल विमा प्राधिकरणले हालै खेलकुद विमालेख जारी गरेको छ । प्राधिकरणले मङ्सिर १३ गते विमालेख जारी गरेको हो । विमालेख जारी भएसँगै अब खेलाडीले प्रतियोगिताको दौरानमा कुनै भवितब्य भए विमारकम प्राप्त गर्नेछन् ।
‘‘नेपालमा खेल संघहरुको संस्थागत विकास शुरु भएको करिव ७६ वर्ष भयो । तर खेलकुद बीमा सम्बन्धि कुनै नीतिगत व्यवस्था हुन सकेको थिएन । खेल्ने क्रममा हुने चोटपटक देखि ठूला दुर्घटना समेतको जोखिम न्यूनीकरणका लागि विमा सम्बन्धि नीति आवश्यक थियो । खेलाडी तथा खेलकर्मीहरुको पूर्णरुपमा सुरक्षा गर्ने उदेश्यका साथ खेलकुद बीमालेख जारी भएको छ । यसले नेपाली खेलकुदलाई थप उपाइमा लाने ठानेको छु,’’ सदस्य सचिव घिसिङले भन्नुभयो ।
बीमालेखले खेलाडीहरुमा आत्माविश्वासका साथ खेल खेल्न सक्ने वातावरण तयार पारेको पनि उहाँले बताउनुभया । जारी विमालेखमा विभिन्न खेलहरुलाई तीन भागमा अर्थात् न्युन जोखिम, सामान्य जोखिम र जोखिम युक्त खेलको रुपमा वर्गीकरण गरिएको छ ।
जसअनुसार न्यून जोखिम खेलको सूचीमा टेबलटेनिस, सफ्ट टेनिस, टेनिस, सुटिङ, गल्फ, बडीविल्डिङ, स्क्वास परेका छन् । सामान्य जोखिम खेलको सूचीमा व्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ, जुडो, जिम्न्याष्टिक, ह्याण्बल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्रायथलन, कबड्डी, खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ्ग, फुलकन्ट्याक्ट कराते, कुस्ती र साईक्लिङग रहेका छन् ।
जोखिमयुक्त खेलमा मोटर तथा मोटरसाईक्लिङ स्पोर्टस, राफ्टिङ एण्ड क्यानोइङ, क्वालाईमम्बिङ, पेन्टथोलन, बन्जी जम्पिङ तथा क्यान्योनिङ, मुवाँथाई, माउण्टेन रनिङ, आईस हक्की एण्ड अल्पाईन स्पोर्टस वाटर स्पोर्टस, रग्वी, प्याराग्लाइडिङ र फुटबल रहेका छन् ।
यस्तै दुर्घटनाका कारण तत्काल वा १८३ दिन भित्र मृत्यु भएमा क्षतिपूर्तिको व्यवस्था दिने समेत राखेपले उल्लदेख गरेको छ । विमालेखमा जसमा पार्थिव शरिर व्यवस्थापन खर्च, काजकिरिया खर्च, स्थायी पूर्ण असक्तता सम्वन्धि व्यवस्था, बीमालेखको अवधि र बीमा शुल्क दरलाई समेत समावेस गरिएको छ ।