• १५ मंसिर २०८१, शनिबार

योजना सम्झौता भएपछि गाउँवासी उत्साहित

blog

पालिका टालीले गरेको योजना सम्झौताको प्रति सेवाग्राहीलाई हस्तान्तरण गर्दै नगरप्रमुख गुरुप्रसाद भट्टराई । तस्विर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ, पुस ५ गते । देश सङ्घीय संरचनामा गएपछि योजना सम्झौता गाउँमै गर्न पाएपछि स्थानीय उत्साहित भएका छन् । नागरिकको स्वास्थ्य, शिक्षालगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि स्थानीय तहको भूमिका प्रभावकारी बन्दैगएको छ ।

पहाडी क्षेत्रमा रहेका अधिकांश पालिकाका भूभागहरू विकट क्षेत्रमा पर्छ । पालिकाले आफ्ना सेवालाई विकट गाउँसम्म घुम्ती शिविरमार्फत पुगाउँदा नागरिकले सिंहदरबार गाउँमा आएको अनुभव गर्न थालेका छन् ।

स्याङ्जाको गल्याङ नगरपालिकाले गाउँमा पुगेर योजना सम्झौता गरिरहेको छ । योजना सम्झौता गाउँमै गर्न पाएपछि त झन् गाउँवासी खुसी भएका हुन् । गाउँमा आएको पालिका टोलीले योजना सम्झौता, बैङ्कको खाता सञ्चालन लगायतका सेवा सहज रूपमा दिंदैआएको छ । 

वडा–वडाका उपभोक्ताको हितलाई मध्यनजर गर्दै गल्याङ नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरिरहेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँमा नै नगरपालिका टोली पुग्दा योजना सम्झौतासहितका धेरै सेवामा स्थानीय नागरिकलाई सहज भएको छ ।”

उहाँले साना–साना योजनाका लागि पनि सम्झौता गर्न पालिकासम्म आउनुपर्ने, बैङ्कसम्म धाउनुपर्ने लगायतका उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै घुम्ती शिविर सञ्चालन गरिरहेको बताउनुभयो । नगरप्रमुख भट्टराईले भन्नुभयो, “विगतको अनुभव लिएर घुम्ती शिविरमार्फत उपभोक्ताको योजना सम्झौता सम्बन्धित वडामा गर्न लागेका हौँ ।”

समयमा योजना सम्झौता नहुने र काम पनि समयमा नहुने समस्याको समाधानका लागि गाउँ–गाउँमा पुगेर योजना सम्झौता गरिएको उहाँको भनाइ छ । एकीकृत घुम्ती शिशिरमा कृषि, पशु र स्वास्थ्य कार्यक्रम गाउँमा नै आएपछि सेवाग्राहीलाई सहज भएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनुभयो । 

शिविरमा कृषिक्षेत्र अन्तर्गत माटो परीक्षण तथा बाली रोग परीक्षणको कार्यक्रम पनि घुम्ती शिशिरमा सञ्चालन हुने बताउनुभयो । यस्तै, गोबर परीक्षण तथा पशुलाई औषधि वितरणसहित परामर्शसहितका कार्यक्रम पनि सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । 

गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु वलीले घुम्ती शिशिरमा स्तन क्यान्सर तथा भिआइएको माध्यमबाट पाठेघरको क्यान्सर जाँच सेवा, आङ खस्ने समस्याको जाँच तथा अस्थायी परिवार नियोजन अन्तर्गत इम्प्लान्ट र आइयुसीडी सेवा पनि दिंदैआएको बताउनुभयो ।