• १७ असार २०८१, सोमबार

डिग्री होल्डर अधिकारी व्यावसायिक नमुना किसान

blog

अमरराज नहर्की

तनहुँ, पुस ५ गते । पढेलेखेका युवा के गर्लान् ? त्यो सहजै भन्न सकिन्छ कि  जागिर खोज्छन्, कि त विदेश ताक्छन् । तनहुँ भानु नगरपालिका–१२ घले छापका कुशल चन्द्र अधिकारी भने कृषि पेसा रोज्नु भएको छ  । त्रिभुवन विश्वविद्यालयबाट कला सङ्कायमा समाजशास्त्र विषयमा स्नातकोत्तर पूरा गरी सोमबार दीक्षित हुनुभएका अधिकारीले पाँच वर्ष अघिदेखि नै व्यावसायिक कृषि पेसा अँगाल्नुभएको छ ।

परम्परागत शैलीलाई आधुनिकतामा परिवर्तन गर्दै अधिकारीले दुई सय रोपनी क्षेत्रफलमा दुई करोड रुपियाँ लगानी गरेर मिलुङ बहुउद्देश्यीय फार्म प्रालि सञ्चालन गर्नुभएको छ ।  अधिकारीले व्यावसायिक रूपमा गाई, भैँसी, बाख्रा, कुखुरा, कालिज तथा मौरीपालन गर्नुभएको छ । गाउँको खेतबारी बाँझो राखेर विदेश जान उपयुक्त नहुने देखेर कृषि पेसा अँगालेको अधिकारीले बताउनुभयो । अधिकारीले १४ वटा दुहुना मुर्रा भैँसी, एक राँगो, १६ वटा पाडा पाडी, ६ वटा जर्सी गाई, ५० वटा बोयर बाख्रा, २५ घार मौरी  पालेको र सबै व्यवसायबाट गरी मासिक एक लाखदेखि एक लाख २० हजार मुनाफा हुने गरेको अधिकारीले जानकारी दिनुभयो । स्थानीय छ जनालाई प्रत्यक्ष रोजगारी दिएको उहाँले जानकारी दिनुभयो । स्थानीय कुखुरा, कालिज र  माछापालन पनि अधिकारीले गर्नुभएको छ ।

 अधिकारीको फाममा तीन वटा माछा पोखरी पनि छ ।  कृषिमा लागेर आफू निकै खुसी भएको उहाँ बताउनुहुन्छ । आफ्नो प्रेरणाको श्रोत बुबा राजेन्द्र अधिकारी क्षेत्री  भएको उहाँले बताउनुभयो । बुबा २० वर्ष विदेश बसेर आएपछि विदेश जान भन्दा स्वदेशमै कर्म गर्नु पर्छ भनेर हौसला प्रदान गरेपछि कृषि पेसा अङ्गालेको अधिकारीले बताउनुभयो । अधिकारीले भन्नुभयो ‘कृषि पेसामा लागेर म सन्तुष्टि छु, बुबाको साथ र सहयोग पाएको छु , विभिन्न पुरस्कार पाउँदा हौसला मिलेको छ ।’ सरकारले किसानमैत्री नीति बनाउन नसकेकोले  कृषि पेसालाई व्यवसायिक रूपमा लान सङ्घर्ष गरिरहनु परेको अधिकारीले बताउनुभयो ।

गाउँका सोझासाझा किसानले कागजपत्र मिलाउन नसक्ने हुँदा उनीहरूले लाभ लिन नसकेकोले दाना, चोकर, ढुवानीमा अनुदान दिने हो भने लाभान्वित हुने अधिकारीले सुझाव दिनुभयो । भैँसीको दूध  प्रति लिटर एक २० रुपियाँ र गाईको एक सय रुपियाँमा र पनिर आठ सय रुपियाँ किलो बिक्री गर्ने गरेको अधिकारीले जानकारी दिनुभयो । विवाह, व्रतबन्ध तथा चाडपर्वमा पनिरको माग धेरै हुन थालेकोले उत्पादित दूधको आधा भाग पनिर बनाउने गरेको अधिकारीले बताउनुभयो । दूध स्थानीय इन्द्रावती बजार र डुम्रे बजारबाट बिक्री भइरहेको बिक्रीको समस्या नभएको उहाँले जानकारी दिनुभयो ।

अधिकारीको सफलता दिनप्रतिदिन चुलिँदो छ । अधिकारीले थुप्रै पुरस्कार पाउनुभएको छ ।  नेपालमै कृषिमा भविष्य खोज्ने अधिकारी नमुना कृषक बन्न सफल हुनु भएको छ ।  अधिकारीले गत असार १५ गते गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट २० हजार नगद सहित प्रदेश उत्कृष्ट कृषक पुरस्कार पाउनुभएको छ । यस अघि उहाँले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा प्रतिभा सम्मान–२०७८ सम्मान पाउनु भएको थियो । । नेपाल कृषि प्रधान देश भए पनि अपेक्षित रूपमा अझै यो क्षेत्रमा शिक्षित युवाको सङ्ग्लनता नदेखिएको बेला अधिकारीले कृषि पेसा गरेर प्रेरणाको स्रोत बनेको भानु नगरपालिका–५ का निर्वतमान वडाध्यक्ष प्रकाश मल्ल टाइसन बताउनुहुन्छ । ७० रोपनी जमिन आफ्नो र बाँकी भाडामा गरी दुई सय रोपनी जमिनमा कृषि व्यवसाय गरेको अधिकारीले जानकारी दिनुभयो ।